Khabar Out
नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएसँगै पोखरातर्फ जाने सवारी तथा ढुवानीका साधन चल्न थालेका हुन् ।

सडक डिभिजन कार्यालय चितवनका अनुसार बिहान ७ः५५ बजे सो खोलामा लेदोसहितको पहिरो खसेको थियो । कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार दिउँसो १२ः१५ बजेको समयमा सडक सञ्चालनमा आएको हो । योसँगै पोखराबाट नारायणगढतर्फ आउने र नारायणगढबाट पोखरातर्फ जाने सवारी तथा ढुवानीका साधन गन्तव्यतर्फ आवतजावत गरिरहेका छन् ।

लगातारको वर्षाले गर्दा पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकखण्डका विभिन्न ११ स्थानमा पहिरो झरी सडक अवरुद्ध भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्डका सूचना अधिकारी इञ्जिनियर सचिन्द्र मिश्रका अनुसार यस सडक खण्डको शीलत बजारमा लेदो र रुखसहितको पहिरो खसेको छ भने सडक छेउ भासिएको छ ।

बेनिघाट बजार नजिकको गोमती खोलामा लेदोसहितको पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको छ । कृष्णभीर माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ।

सूचना अधिकारी मिश्रका अनुसार ज्यामिरेघाट चौकीभीरमा ढुङ्गा र लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ भने हुग्दी खोलादेखि जवाङखोलासम्मको क्षेत्रमा ठाउँ ठाउँमा ढुङ्गासहितको साना पहिरा खसेको छ ।

फिस्लिङ आसपासस्थित विभिन्न तीन स्थान गरी करिब २०० मिटर सडकमा ढुङ्गा, लेदो र रुखसहितको पहिरो खसेको छ भने ३० मिटरजति सडकको आधा भाग ३० चर्किएको छ । चुम्लिङटारमा ढुङ्गा सहितको पहिरो खसेको छ । धारापानीको दुई स्थानमा गरी करिब ५० मिटर सडकको आधा भाग भत्किएको सूचना अधिकारी मिश्रले जानकारी दिए ।

सोही स्थानमा ‘कल्भर्ट’ खुलाउने काम भइरहेको र घोप्टेभीर तथा सिमलधारामा ठूला ढुङ्गा र लेदोसहित आएको पहिरोका कारण सडक अवरुद्ध भएको छ । इञ्जिनियर मिश्रका अनुसार सबै ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ ।

अब ठूलो पहिरो नखसेमा साँझसम्म पन्छाएर सवारी सञ्चालनमा ल्याइने छ । सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका उपकरण पन्छाउने काममा प्रयोग भइरहेको उनले जानकारी दिए । रासस

 

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update