Khabar Out
पर्यटक सुरक्षाका लागि एक्यापद्वारा पर्यटक परमिट बन्द

मुस्ताङ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले सम्भावित विपद् जोखिमको प्रक्षेपण तथा त्यसबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि भन्दै सो क्षेत्रमा भ्रमण गर्न जाने पर्यटकका लागि प्रवेशाज्ञा (परमिट) दिन बन्द गरेको छ । एक्याप प्रधान कार्यालय पोखराको निर्णयअनुसार बिहीबारदेखि मौसममा सुधार नआएसम्म सो निर्णय लागू हुने उल्लेख गरेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले हिमाली तथा उच्च पहाडी क्षेत्रको भ्रमण गर्न जाने पर्यटकका लागि वर्षा र हिमपातले जोखिम निम्तन सक्ने उल्लेख गरी तीन दिनका लागि प्रवेशाज्ञा अनुमति पत्र दिन बन्द गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए ।

राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार मौसम पूर्वानुमान महाशाले बिहीबारदेखि चार दिनसम्म भारी वर्षा र हिमपात हुने जनाएकाले सोही सूचनालाई मध्यनजर गरी पर्यटकको सुरक्षाका लागि प्रवेशाज्ञा (परमिट) अनुमति पत्र दिन बन्द गरेको कार्यालय प्रमुख गुप्तको भनाइ छ ।

निर्णय भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत मुस्ताङसहित मनाङ, लमजुङ, म्याग्दी र कास्कीको उपल्लो क्षेत्रमा भ्रमण गर्न जाने पर्यटकलाई बिहीबारदेखि प्रवेशाज्ञा अनुमति पत्र दिन बन्द गरिएको हो । एक्याप जोमसोम प्रमुख गुप्तका अनुसार प्रवेशाज्ञा अनुमति बन्द गरिएको अवस्थामा कुनै पर्यटक जिल्ला भित्रिएको अवस्था रहेमा कार्यालयद्वारा भौतिक रूपमा उपस्थित भएर प्रवेशाज्ञा ९परमिट० शुल्क लिएर सहजीकरण गरी पठाउने बताए ।

एक्यापले अन्नपूर्ण संरक्षण क्षेत्रमा भ्रमण गर्ने पर्यटकका लागि अनलाइन प्रणालीमार्फत प्रवेशाज्ञा शुल्क उठाउने गरेको छ । तर, निरन्तरको वर्षाका कारण बाढी, पहिरो र नदी कटानले सडक अवरुद्ध हुने तथा यात्रा जोखिम हुनसक्ने भएकाले तत्कालका लागि मौसममा सुधार नआएसम्म प्रवेशाज्ञा अनुमति दिन अनलाइन प्रणाली बन्द गरेको प्रमुख गुप्तको भनाइ छ । प्रतिकूल मौसमका कारण अहिलेको असहज परिस्थितिको रोकिनेबित्तिकै साबिककै अनुसार प्रवेशाज्ञा सेवा सञ्चालन गराइने उनले बताए ।

एक्यापले अन्नपूर्ण संरक्षण क्षेत्रको मुस्ताङ, मनाङ, लमजुङ, कास्कीको उपल्लो भेक र म्याग्दीको सिख, घारा र नारच्याङ क्षेत्रमा भ्रमण गर्ने पर्यटकले तोकिएको शुल्क तिरेपछि मात्रै प्रवेशाज्ञा अनुमति पाउने गर्छन् । एक्यापले यी क्षेत्रको भ्रमण गर्दा सार्क राष्ट्रका पर्यटकलाई रु एक हजार र तेस्रो मुलुकका पर्यटकका लागि तीन हजार प्रवेशाज्ञा शुल्क लिने गरेको छ । रासस

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update