पाल्पा । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पाका राजमार्ग तथा अन्य ग्रामीण सडक अवरुद्ध भएका छन् । पहिरोका कारण सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्र तथा माथागढी गाउँपालिका–१, चिदीपानीस्थित आर्यभञ्ज्याङ–रामपुर सडकखण्डमा यातायात प्रभावित भएको छ ।
सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रस्थित ड्याम साइडमा माथिबाट निरन्तर पहिरो झरिरहेको छ । पहिरो पन्छाउने काम भइरहे पनि माथिबाट निरन्तर पहिरो झर्दा सडक खुलाउन समस्या भइरहेको प्रहरी चौकी दोभानले जनाएको छ ।
यस्तै, माथागढी गाउँपालिका–१, चिदीपानीस्थित आयुर्वेद औषधालय नजिक गुडिरहेको ट्रकमाथि पहिरो खसेको छ । पहिरोले ट्रकमा सामन्य क्षति पुगेको छ । अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन पहिरो पन्छाउने काम भइरहेको वडाध्यक्ष राजकुमार पन्थीले बताए ।
उनका अनुसार सडक खुलाउन दुईवटा डोजर परिचालन गरिएको छ । लगातारको वर्षाका कारण पाल्पाका केही स्थानमा विद्युत् सेवा समेत अवरुद्ध भएको छ ।
तिनाउ लगायत जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढेको छ । थप भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय पाल्पाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
जिल्लाका केही ग्रामीण सडक बन्द हुँदा सदरमुकाम आउने–जाने सवारी साधन सञ्चालनमा समस्या भएको छ । यसका कारण गाउँबाट सदरमुकामतर्फ दूध, तरकारी लगायत दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत समस्या देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले सडकको अवस्था बुझेर यात्रा गर्न यात्रु तथा सवारी चालकलाई आग्रह गरेका छन् । लगातारको वर्षाका कारण जलसतह बढ्नुका साथै विभिन्न स्थानमा पहिरो खस्न सक्ने जोखिम रहेकाले सम्भावित जनधनको क्षति रोक्न जिल्लाका विभिन्न प्रहरीचौकीमा कार्यरत प्रहरीलाई परिचालन गरिएको छ । रासस






