Khabar Out
प्रहरीको गतिशीलता बढाउन मधेस सरकारले ३५ मोटरसाइकल प्रदान

धनुषा । मधेस प्रदेश सरकारले नेपाल प्रहरीलाई ३५ वटा मोटरसाइकल उपलब्ध गराएको छ ।

प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले उपलब्ध गराएका १२५ सिसी क्षमताका सुपर स्प्लेन्डर मोटरसाइकल सम्बन्धित जिल्लाका प्रहरी उपरीक्षकलाई आज हस्तान्तरण गरिएको हो ।

मोटरसाइकल हस्तान्तरण गर्दै गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले प्रहरीको दैनिक काम, अपराध नियन्त्रण, सीमा तथा भन्सार क्षेत्रमा हुने चोरी–तस्करी नियन्त्रणका साथै विपद्का समयमा उद्धार तथा राहतका काममा मोटरसाइकल उपयोगी हुने बताए ।

उनले प्रहरीलाई आवश्यक साधन स्रोत उपलब्ध गराई सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउने प्रदेश सरकारको नीति रहेको बताए ।

मधेस प्रदेश प्रहरी प्रमुख ओमप्रसाद अधिकारीले प्रदेश सरकारले उपलब्ध गराएका साधनस्रोतको अधिकतम उपयोग गरी शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रणमा प्रभावकारी रूपमा परिचालन गरिने बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव विन्देश्वरप्रसाद लेखकसहित मन्त्रालयका उच्च अधिकारी तथा प्रहरी अधिकारीको सहभागिता थियो ।

मन्त्रालयका अनुसार बिहीबार सशस्त्र प्रहरीलाई सीमा सुरक्षा, अपराध नियन्त्रण तथा भन्सार छली नियन्त्रणका लागि थप २० वटा मोटरसाइकल उपलब्ध गराइनेछ । मधेस प्रदेश सरकारले यसअघि पनि प्रदेशका आठ वटै जिल्लाका प्रहरीलाई प्रहरी भ्यान, सिसिटिभी, सञ्चार उपकरणलगायत सुरक्षा प्रयोजनका विभिन्न सामग्री उपलब्ध गराउँदै आएको छ ।

तीन हजार ८१ थान स्मार्ट लाइसेन्स कार्ड पठाइयो

मधेस प्रदेशका विभिन्न यातायात व्यवस्था कार्यालयमा वितरणका लागि तीन हजार ८१ थान सवारी चालक अनुमति पत्र ९स्मार्ट लाइसेन्स कार्ड० पठाइएको छ । मधेस प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रबाट छपाइ भएर प्राप्त भएका स्मार्ट कार्ड सम्बन्धित यातायात व्यवस्था कार्यालयमा पठाएको हो ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै स्मार्ट कार्ड यातायात व्यवस्था कार्यालय गौरका लागि एक हजार १९१ थान र वीरगञ्जका लागि एक हजार १७२ थान पठाइएको छ । त्यसैगरी, जनकपुरधामका लागि ९३२, लहानका लागि ४६०, बर्दिवासका लागि ३०३, राजविराजका लागि ५२, मलङ्गवाका लागि ३२ र कलैयाका लागि ११ थान स्मार्ट कार्ड पठाइएको हो ।

श्रम तथा यातायातमन्त्री शारदादेवी थापाले सेवाग्राहीलाई लामो समयसम्म लाइसेन्सको प्रतीक्षामा बस्नुपर्ने अवस्था अन्त्य गर्न मन्त्रालयमा उपलब्ध कार्डलाई सम्बन्धित कार्यालयमार्फत वितरण गर्ने प्रक्रिया अघि बढाएको बताए । रासस

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update