काठमाडौं । नेपाली कांग्रेसले ५८ जिल्लाका ५१२ पालिकामा अधिवेशनअन्तर्गत निर्वाचन सम्पन्न भएको जनाएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले बुधबार जारी गरेको विज्ञप्तिअनुसार सम्बन्धित पालिकामा उद्घाटन तथा बन्द सत्र सम्पन्न गरी निर्वाचन प्रक्रिया अघि बढाइएको हो ।
निर्वाचन समितिका अनुसार अझै २४१ पालिकामा अधिवेशन हुन बाँकी छ । ती पालिकामा बिहीबार र शुक्रबार पनि अधिवेशन सञ्चालन हुने जनाइएको छ ।
यसैबीच, आगामी दिनमा भारी वर्षाको सम्भावना रहेकाले अधिवेशन सञ्चालन गर्दा मौसमको अवस्थालाई समेत ध्यान दिन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिइएको छ । जल तथा मौसम विभागको पूर्वानुमानअनुसार असोज ८ देखि १२ गतेसम्म भारी वर्षा हुन सक्ने भएकाले पालिका, प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रका अधिवेशन अनुकूल समय मिलाएर सञ्चालन गर्न भनिएको हो ।
कांग्रेसको नयाँ विधान तथा निर्वाचन निर्देशिकाअनुसार पालिका अधिवेशनबाट पाँचजना पदाधिकारी निर्वाचित हुने व्यवस्था छ । जसअनुसार एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सह–सचिव चयन हुनेछन् । कोषाध्यक्ष भने निर्वाचित कार्यसमिति सदस्यहरूमध्येबाट सभापतिले चयन गर्ने व्यवस्था छ ।
त्यस्तै, पालिका कार्यसमितिको सदस्यमा प्रत्येक वडाबाट एक महिला र एक खुला सदस्य, युवा क्लस्टरबाट एक महिला र दुई खुला सदस्य तथा दलित समुदायबाट एक महिला र एक खुला सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ ।
विधानअनुसार गाउँ कार्यसमितिमा सात, नगर कार्यसमितिमा नौ, उपमहानगर कार्यसमितिमा ११ र महानगर कार्यसमितिमा १३ सदस्य मनोनयन गर्न सकिनेछ । मनोनयन गर्दा निर्वाचनबाट प्रतिनिधित्व हुन नसकेका समुदायलाई प्राथमिकता दिनुपर्ने व्यवस्था पनि गरिएको छ ।






