Khabar Out
भोटेकोशी बाढी : ‘ठुलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

नुवाकोट ।  बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल नियमित काममा जाने तयारीमा थिए । त्रिशूली नदीको किनारबाट केही दूरीमा घर भएकाले नदीमा ठुलो बाढी आए पनि आफ्नो घरसम्म त्यसको असर पुग्ला भन्ने उनलाई लागेको थिएन । त्यसैले भदौ १० गते बिहान ‘बाढी आउँदैछ’ भन्ने सूचना पाए पनि त्यसले निम्त्याउन सक्ने विपत्तिको अवस्थाका बारेमा उनले अनुमान गर्न सकेनन् ।

घरबाट निस्कने तयारी गरिरहेका बेला प्रहरीले माइकिङ गर्दै भन्यो, “भोटेकोशीमा आएको बाढीले रसुवाको टिमुरेमा ठुलो क्षति पुर्‍याएको छ । ठुलो बाढी तीव्रगतिमा अघि बढिरहेको छ । तपाईँहरू सबै सुरक्षित स्थानतर्फ लाग्नुहोस् । ढुङ्गे चोकभन्दा अझ माथि जान अनुरोध गर्दछौँ”, माइकिङ गर्ने प्रहरी हवल्दार अर्जुन न्यौपानेलाई चिनेका उनले प्रहरीको नजिकै पुगेर सोध्नुभयो, “बाढी धेरै ठुलो हो ?” जवाफ आयो, “हो, धेरै ठुलो छ ।”

तर, ‘धेरै ठुलो’ भन्ने चेतावनीले पनि बाढीको वास्तविक अवस्था ठुलो होलाजस्तो लागेको थिएन । “नातिनी विद्यालय जाने बेला भएको थियो । सबै जनासँगै निस्कनुपर्ला भन्ने लाग्यो”, प्याकुरेलले भने । त्यसपछि उनी परिवारका सदस्यसँगै घरबाट निस्कने तयारीमा लाग्दै गर्दा केही समयमै त्रिशूलीको भेल अस्वाभाविक रूपमा बढ्यो । बाढीले घरलाई चारैतिरबाट घेर्‍यो । केही मिनेटमै ढुङ्गेबजार र आसपासका बस्ती बाढीको भेलमा परिणत भए ।

घरमै फसेका प्याकुरेलसहित परिवारका पाँच जना र एक छिमेकी गरी छ जनालाई स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीले उद्धार गरे । बाढीको भेलबिच ज्यान जोगाउन सफल उहाँको घर अहिले ‘हरियो घर’का रूपमा परिचित छ । “सूचना त आएको थियो, तर यति ठुलो बाढी आउँछ भन्ने विश्वास लागेन । बाढी आँखैअगाडि आइपुग्दा सुरक्षित ठाउँमा जाने समय नै भएन”, उनले भने ।

बाढी हेर्न जाँदा आफैँ भेलमा

विदुर–१० वेत्रावतीका शशि डङ्गोलले पनि टिमुरेमा बाढीले क्षति पुर्‍याएको केही समयमै साथीमार्फत ठुलो बाढी आउँदै गरेको सूचना पाएका थिए । केही समयपछि वेत्रावती प्रहरी चौकीबाट समेत माइकिङ भयो, “बाढी आउँदैछ, सुरक्षित स्थानमा जानुहोस्, धेरै ठुलो बाढी आउँदैछ ।”

चित्रकलामा आफ्नो छुट्टै पहिचान बनाएका डङ्गोल सामाजिक क्षेत्रमा पनि सक्रिय थिए । उनले वेत्रावती बजारका स्थानीयलाई पसल तथा व्यवसाय बन्द गरी सुरक्षित स्थानमा जान आग्रह गरे । तर, अरूलाई सुरक्षित हुन आग्रह गरिरहेका उनी स्वयं भने बाढीको अवस्था हेर्न नदी किनारतर्फ लागे । नदीतर्फ पुग्न नपाउँदै चारैतिरबाट आएको भेलले उनलाई घेर्‍यो । “बाढी हेर्न नदीतर्फ जाँदै थिएँ, एक्कासी चारैतिरबाट आएको बाढीले छोप्यो । केही सेकेन्डले ज्यान बच्यो”, डङ्गोलले भने ।

बाढीमा परेर उनको खुट्टाको मांसपेशी च्यातिएको छ । तर, शारीरिक चोटभन्दा आफ्नै आँखाअगाडि साथीभाइ र छिमेकीलाई त्रिशूलीले बगाएको दृश्यले उनलाई पीडा दिएको छ । “आँखैअगाडि आफ्ना साथी र छिमेकीलाई त्रिशूलीले बगाएर लग्यो । त्यो दृश्य जीवनमा कहिल्यै बिर्सन सक्दिन”, भावुक हुँदै उनले भने, “ठुलो बाढी आउँदैछ भन्ने थाहा थियो, तर कत्रो ठुलो भन्ने थाहा भएन ।”

अरूलाई खबर गर्न दौडिँदा आफ्नै परिवार गुमाएँ

रसुवाको उत्तरगया गाउँपालिका–१ तिरुका कर्मा तामाङको पीडा अझ गहिरो छ । गोरखा भूकम्पले विस्थापित गरेपछि उनी पछिल्लो १० वर्षदेखि उत्तरगया–५ स्थित त्रिशूली नदीकिनारको खाल्डेमा बस्दै आएका थिए ।

गत भदौ १० गते टिमुरेबाट बाढी अघि बढेको खबर पाएपछि उनी खाल्डे र नजिकैको सातबिसेमा बस्ने २५० भन्दा बढी परिवारसम्म खबर पुर्याउन दौडिए । तर, सूचना फैलाउन थालेको करिब १० मिनेट नबित्दै बाढी बस्तीमा आइपुग्यो ।

उनले भेलबाट भागेर ज्यान त बचाए, तर बुबाआमा, श्रीमतीसहित परिवारका १५ सदस्य गुमाए । उक्त बस्तीका १०० भन्दा बढी हराइरहेका छन् । “ठुलो बाढी आउँदैछ भन्ने थाहा थियो । तर, कत्रो ठुलो बाढी हो भन्ने अनुमान भएन । पोहोर (विसं २०८२ असार २४ गते) को जत्रै होला, बाढी आउन बेर लागिहाल्छ भन्ने थियो, सास फेर्न नपाउँदैमा छोपिहाल्यो”, तामाङले भने ।

सूचना पुग्यो, तर जोखिमको आकार बुझिएन

भदौ १० गतेको बाढी रसुवागढी, घट्टेखोला हुँदै टिमुरेबाट तल्लो तटीय क्षेत्रमा अत्यन्त तीव्रगतिमा फैलिएको थियो । टिमुरेबाट बाढीको सूचना त्रिशूली नदीकिनारका बासिन्दासम्म पुगे पनि त्यसले पुर्‍याउने क्षतिको अनुमान कल्पनाभन्दा धेरै गुणा ठुलो बन्यो ।

विदुर–१ ढुङ्गेका विष्णु श्रेष्ठका अनुसार २०१८ सालतिर पनि त्रिशूलीमा ठुलो बाढी आएको कुरा हजुरबुबाले सुनाएका थिए । त्यसबेला मानवीय भएन, भौतिक क्षति सामान्य रहेको उनको स्मरण छ । “हजुरबुबाले २०१८ सालमा ठुलो बाढी आएको सुनाउनुहुन्थ्यो । अहिले त त्रिशूली नदीबाट करिब ३०० मिटर पर र झन्डै १०० मिटर उचाइमा रहेको मेरो चार रोपनी धानखेत बगर बनायो”, श्रेष्ठले भने ।

बाढी आउँदैछ भन्ने खबर थाहा पाए पनि यति ठुलो विध्वंस होला भन्ने धेरैलाई लागेन । टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, शान्तिबजार, वेत्रावती, तुप्चे, त्रिशूली र देवीघाटलगायतका नदी आसपासका बस्ती बाढीले निमेषभरमै सिध्यायो ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार बाढीको सूचना प्रवाह भए पनि त्यसको गम्भीरता बुझाउन चुनौती देखिएको स्मरण गर्छन् । उनका अनुसार विपद्का बेला सूचना समयमै पुग्नु जति महत्त्वपूर्ण छ, त्यसको गम्भीरता बुझेर तत्काल सुरक्षित स्थानमा पुग्नु पनि उत्तिकै आवश्यक हुन्छ ।

“सफा मौसम, घाम लागिरहेको वातावरणमा ठुलो बाढी आउँदैछ भनेर प्रवाह गरिएको सूचनालाई धेरैले पत्याउन र बुझ्न सकेनन्”, प्रजिअ रेग्मीले भने, “मानवीय क्षति कम गराउन सूचना कति छिटो पुग्यो भन्नेमात्र होइन, सूचनाको गम्भीरता कति बुझियो भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण हुने गर्दछ।”

भोटेकोशी बाढीले विपद्का बेला सूचना प्रवाहसँगै त्यसको गम्भीरता बुझेर पालना गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुने देखाएको छ । बाढी आउँदैछ भन्ने सूचना प्राप्त गरे पनि त्यसलाई सामान्य रूपमा लिँदा सुरक्षित स्थानमा पुग्न सक्ने अवसर धेरैले गुमाए । त्यसैले विपद्को पूर्वसूचना पाउने बित्तिकै त्यसको गम्भीरता बुझेर सावधानी अपनाउनु र सुरक्षित स्थानतर्फ जानु आवश्यक हुन्छ । रासस

प्रकाशित मिति: सोमबार, असोज ५, २०८३  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update