Khabar Out
भोटेकोशी बाढी : २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते गएको विनाशकारी बाढीमा परी ज्यान गुमाएर काठमाडौँ ल्याइएका २८१ जनाको शव सुरक्षित रुपमा व्यवस्थापन गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोका वन क्षेत्रमा ती शव जमिनमुनि गाडेर सुरक्षित रुपमा व्यवस्थापन गरिएको हो।

उनका अनुसार विपद् प्रभावित रसुवा, धादिङ र नुवाकोटबाट ती शव काठमाडौँ ल्याइएको थियो। ती शवको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम तथा डिएनए परीक्षणका लागि नमूना सङ्कलन गरेपछि सुरक्षित रुपमा व्यवस्थापन गरिएको हो।

प्रहरीका अनुसार प्रत्येक शवबाट डिएनए परीक्षणका लागि आवश्यक नमूना सङ्कलन गरी शवलाई सुरक्षितरुपमा गाड्ने गरिएको छ । भविष्यमा पहिचान खुलेमा सम्बन्धित परिवारलाई शव हस्तान्तरण गर्न सकिने गरी आवश्यक विवरण र नमूना सुरक्षित राखिएको प्रहरी उपरीक्षक थापाले बताए।

शव व्यवस्थापन गर्दा विशेष प्रकारको ‘एयरटाइट ब्याग’ प्रयोग गरी त्यसमा ट्याग नम्बर राख्ने गरिएको छ । ट्याग नम्बरका आधारमा शवको विवरण पहिचान गर्न सहज हुने गरी अभिलेखसमेत राखिएको छ।

बाढीमा परी ठूलो जनधनको क्षति भएपछि विभिन्न स्थानबाट फेला परेका शवलाई पहिचान तथा डीएनए परीक्षणका लागि काठमाडौँ ल्याइएको हो। पहिचान हुन बाँकी शवको डिएनए नमूना सुरक्षित राखी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रकाशित मिति: आइतबार, असोज ४, २०८३  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update