काठमाडौँ । हरितालिका (तीज) को तयारीस्वरुप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठ, कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठलगायत कोष सञ्चालक परिषद् सदस्यहरुसहित कर्मचारी, स्थानीयवासी र भक्तजनहरुको उपस्थितिमा पशुपति क्षेत्रका बागमती पारिको १५ शिवालय, मृगस्थली, किरातेश्वर, गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, भुवनेश्वरीलगायत मुख्य मुख्य क्षेत्रमा सफाइ गरिएको हो ।
त्यस क्षेत्रका अव्यवस्थित संरचनालाई पनि व्यवस्थित गराइएको छ । पन्ध्र शिवालय क्षेत्रमा शुक्रबार राति भएको आगलागीबाट एउटा शिवालयमा पुगेको क्षतिको अनुगमन गरी फोहर हटाइएको छ । ढुङ्गैढुङ्गाले बनेको शिवालयको भित्र काठ प्रयोग भएको र त्यहाँ बस्नेले भित्री भागमा कपडा राखेकाले आगलागी भएको पाइएको कोष सञ्चालक परिषद् सदस्य केदारमान भण्डारीले जानकारी दिए ।
आगलागीका कारण आज बिहानसम्म त्यस क्षेत्रमा धुवाँको मुस्लो छुटेको थियो । शुक्रबार रातिको घटनापछि पशुपति क्षेत्रका कुनै पनि शिवालय एवम् मन्दिर क्षेत्रमा अनधिकृत रुपमा बसोबास गर्न नदिइने पनि उनले बताए ।
पशुपति क्षेत्रलाई सफा, स्वच्छ राखी नेपाली महिलाको महान् पर्व हरितालिका (तीज)को तयारीका लागि सहयोग गर्न आज पशुपति क्षेत्रमा विशेष सफाइ गरिएको हो । स्वच्छ पशुपति निर्माणमा सामाजिक उत्तरदायित्वको भावनाले सफाइमा जुटौँ भन्ने नाराका साथ सफाइ अभियान सञ्चालन गरिएको उनले सुनाए ।
साउनको महिनाको तयारीका लागि असारको अन्ति शनिबारदेखि कोषले पशुपति क्षेत्रमा सुरु गरेको सफाइ अभियान प्रत्येक हप्ताको शनिबार बिहान जारी राखिएको छ । पशुपति क्षेत्रमा आज नवौँ हप्ताको सफाइ गरिएको हो ।






