Khabar Out
वीरेठाँटी–घान्द्रुक सडक पुनः निर्माण गर्न ९ लाख बढी सहयोग

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय क्षेत्र घान्द्रुकलाई पोखरासँग जोड्ने पक्की सडक तीन सातादेखि अवरुद्ध छ । मोदीको कटानले वीरेठाँटी बजार अहिले जोखिममा पर्नुका साथै यहाँको १०० मिटर सडक बगेपछि पुनः निर्माणलाई अघि बढाइएको हो ।

गाउँपालिकाले सडक पुनः निर्माणका लागि विपद् व्यवस्थापन कोष बनाएर रकम जम्मा गर्नका लागि सरोकार भएका सबैलाई आह्वान गरेकामा मंगलबार एकै दिन ९ लाख ७७ हनार ६९५ रकम जम्मा भएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिइन् ।

गत साउन २८ गते राति मोदी खोलामा आएको बाढीले वीरेठाँटी र स्याउली बजारमा सडक बगाएपछि वीरेठाँटीबाट माथिका गाउँहरूको अहिले सिधा यातायात सम्पर्क विच्छेद भएको छ । बाढीका कारण वीरेठाँटी क्षेत्रको सडकमा क्षति पुगेसँगै घान्द्रुक तथा अन्नपूर्ण आधार शिविर जाने प्रमुख मार्ग प्रभावित बन्नुका साथै यहाँको पर्यटकीय गतिविधि ठप्प छ ।

वीरेठाँटी हुँदै उल्लेरी, घोडेपानी र पुनहिल जाने पर्यटकीय मार्गसमेत प्रभावित भएपछि सडक पुन निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको अध्यक्ष केसीले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाले विपद् व्यवस्थापन कोषमार्फत राहत, पुनः निर्माण तथा पुनः स्थापनाका लागि सहयोग जुटाउँदै आएको छ ।

“बाढीबाट क्षतिग्रस्त वीरेठाँटी–घान्द्रुक तथा उल्लेरी–घोडेपानी सडक पुनः निर्माणका लागि अन्नपूर्ण गाउँपालिकाद्वारा स्थापना गरिएको विपद् व्यवस्थापन कोषमा विभिन्न व्यक्ति, सामाजिक सङ्घसंस्था, व्यवसायी तथा राजनीतिक दलबाट आर्थिक सहयोग जुटेको छ । हामी यो रकम विपद् प्रभावित क्षेत्रमा खर्च गर्छौँ । छिटोभन्दा छिटो सडक सञ्चालन गरेर स्थानीयवासी र पर्यटकलाई सुविधा दिने गरी काम गरेका छौँ”, उनले भने ।

अध्यक्ष केसीका अनुसार नेपाली सेनाको नेतृत्वमा अहिले सडक पुनः निर्माण भइरहेको छ । “बस्तीतर्फ सोझिएको नदीको बहाव परिवर्तन गरी सडक बगाएको स्थान ग्याविन जाली भर्ने काम जारी छ । आगामी असोज पहिलो सातासम्म सडक सञ्चालन गर्ने गरी काम थालिएको छ”, उनले भने ।

गाउँपालिकाले सडक पुनः निर्माण तथा तथा विपद्पछिको व्यवस्थापनका लागि स्थापना गरेको कोषमा आज ब्रेज मेश्रम घान्द्रुक समाज जापानले रु दुई लाख, नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी कास्की र एमाले अन्नपूर्ण गाउँ कमिटीले संयुक्त रूपमा रु एक लाख ६८ हजार १०० सहयोग गरेका छन् ।

ब्रेज मेश्रम वराह घान्द्रुक समाज पोखराले रु एक लाख ५३ हजार ६५०, अन्नपूर्ण–घान्द्रुक–घोडेपानी यातायात सेवा प्रालिले रु एक लाख एक हजार, घुरुजुइ समाज अन्नपूर्ण–११ र टाँडापानी–मुल्डे पर्यटन व्यवस्थापन समितिबाट रु एक लाखका दरले सहयोग प्राप्त भएको छ ।

गुरुङ कटेजका किसम गुरुङ र रत्न गुरुङ, सापेत कृपाराम काम्चे कोने (घोताने) परिवार, फिस्टेल गेस्ट हाउस टाडापानी–११ र होटल ग्रीन हिल इसारु, हङकङ निवासी लिमा गुरुङ, देउबहादुर गुरुङ, मिना टी हाउस, ट्राकुलिटी गेस्ट हाउसलगायतले सहयोग गरेका अध्यक्ष केसीले जानकारी दिए । रासस

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update