च्यासलबाट लागुऔषधसहित दुई जना सशस्त्रको नियन्त्रणमा
काठमाडौँ । ललितपुरको च्यासलबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोबाट परिचालित विशेष टोलीले सोमबार ललितपुर महानगरपालिका–९, च्यासलमा सञ्चालन गरिएको ‘अपरेसन’का क्रममा १७ हजार ४०० क्याप्सुल ट्रामाडोल बरामद गरेको हो ।
टोलीले सुनसरीको धरान महानगरपालिका–१७ घर भई हाल सातदोबाटो बस्दै आएका ३४ वर्षीय सुरेन राई र ललितपुर महानगरपालिका–१२ घर भई हाल शङ्खमूल बस्दै आएका ३२ वर्षीय सुजित देउलालाई नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट ट्रामाडोल १७ हजार ४०० क्याप्सुल तथा एक थान स्कुटरसमेत बरामद भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलैन्द्र थापाले जानकारी दिनुभयो । थप अनुसन्धानका लागि उनीहरूलाई सम्बन्धित निकायमा बुझाइएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३ ०९:१९
प्रतिक्रिया दिनुहोस्






