बागलुङ । जिल्लाको निसीखोला गाउँपालिकामा अविरल वर्षासँगै आएको पहिरोका कारण १२ परिवार विस्थापित भएका छन् । पहिरोका कारण घर जोखिममा परेपछि विस्थापित भएकाहरू आफन्तकोमा आश्रय लिएर बसिरहेका छन् ।
निसीखोला-४ चिनारे र वडा नं ५ चेल्बाङका पहिरो प्रभावित १२ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ भने आइतबार गाउँपालिकाले राहत प्रदान गरेको थियो । गाउँपालिकाले त्रिपाल तथा खाद्यान्न वितरण गरेको हो ।
वर्षायाममा उक्त क्षेत्रमा मोटरबाटो भासिएर पहिरो जानुका साथै कालोपहिराको ठाँडो खोलाबाट आउने लेदो तथा बाढीका कारण जोखिममा परेपछि प्रभावित परिवार आफ्नो घर छाडेर आफन्तजनकोमा आश्रय लिएर बस्न बाध्य छन् ।
पहिरोका कारण भूमिराज कँडेल, भानिश्वर कँडेल, शशिधर कँडेल, लाली कँडेल, तुलसिराम कँडेल, लिलाबहादुर कँडेल, रमिलाल कँडेल, पूर्णलाल कँडेल, ज्ञानबहादुर कँडेल, पुनलाल भुसाललगायतका १२ घर उच्च जोखिममा रहेका निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीले जानकारी दिए । उनका अनुसार अविरल वर्षापछि बस्तीभन्दा तलतर्फबाट निरन्तर पहिरो खसिरहेको छ ।
स्थानीयका घर तथा आसपासको जमिन भासिने र चर्किने गरेकाले गाउँ छोड्नुपर्ने बाध्यता रहेको स्थानीय भूमिराज कँडेलले बताए । “गाउँमुनिबाट निरन्तर पहिरो खसिरहेको छ । पानी नपर्दा घरमै बसे पनि पानी पर्नासाथ बस्ती छोड्नुपर्ने अवस्था छ”, उनले भने, “पहिरोका कारण आँगन र पाली चर्किएपछि अब घरमा बस्ने अवस्था नदेखेपछि छिमेकीकोमा आश्रय लिएका छौँ ।”
गाउँपालिकाका उपाध्यक्ष घर्तीका अनुसार लगातारको वर्षाका कारण पहिरो जाने क्रम बढ्दै गएको र खोलाबाट आउने लेदो तथा बाढीले थप जोखिम निम्त्याएको छ । पहिरो प्रभावित परिवारलाई राहत वितरण गर्न गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती, उपाध्यक्ष घर्ती, वडा नं ४ का वडाध्यक्ष टिकानिधि पौडेल, वडा नं ५ का वडाध्यक्ष हर्कमान घर्तीलगायत गाउँपालिकाको टोली प्रभावित क्षेत्रमा पुगेको थियो । टोलीले पीडित परिवारलाई अस्थायी बसोबासका लागि आवश्यक पर्ने सामग्री हस्तान्तरण गरेको हो ।
विपद्को समयमा प्रभावित परिवारलाई थोरै भए पनि राहत मिलोस् भन्ने उद्देश्यले गाउँपालिकाको तर्फबाट राहत सामग्री वितरण गरिएको उपाध्यक्ष घर्तीले बताए । घरबास छाडेर आफन्तकोमा आश्रय लिन बाध्य भएका पीडित परिवारलाई गाउँपालिकाबाट प्राप्त सहयोगले तत्कालका लागि केही राहत मिलेको बताएका छन् ।
बस्तीमा पहिरो तथा बाढीको जोखिम कायमै रहेकाले सुरक्षित स्थानमा व्यवस्थापन तथा दीर्घकालीन समाधानका लागि पहल गर्नुपर्ने पहिरोपीडित पूर्णलाल कँडेलले गुनासो गरे ।






