Khabar Out
राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपूर्ति दिन ढिलाइ

म्याग्दी। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितहरूले अझै क्षतिपूर्ति पाउन सकेका छैनन् ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झि को फेदीमा रहेको बाँधदेखि तिल्केनीचौरस्थित विद्युत्गृह जोड्ने ६ किलोमिटर २७० मिटर लामो सुरुङ खन्ने क्रममा बिस्फोटक पदार्थको कम्पनले घर भत्किएका र चर्किएका प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ भएको हो ।

घर भत्किएका तथा चर्किएर बस्नै नमिल्ने भएका प्रभावितलाई क्षतिपूर्ति वितरण गर्न बेवास्ता भएको रघुगङ्गा–३ पिप्लेकी मना शाहीले बताएकी छन्। आयोजनाको सर्ज साफ्ट सुरुङ नजिकै रहेको उनको दुई तले ढुङ्गा माटोले बनेको घरको पर्खाल भत्किएर चिरा चिरा परेको छ। पिप्लेकी अर्की स्थानीय रामकुमारी मल्लका अनुसार बिस्फोटको कम्पनले घर चर्किएपछि बस्न छाडेको छ वर्ष भइसकेको छ। आयोजनाले अस्थायी आवासका लागि दिएको १ लाख ७५ हजार रुपियाँले नपुगेपछि ऋण खोजेर अर्को घर बनाएर बस्नुपरेको र क्षतिपूर्तिको अहिलेसम्म टुङ्गो नलागेको उनले बताएकी छन् ।

आयोजनाले सर्जसाफ्ट, प्रेसर साफ्ट र अडित नम्बर ३ को सुरुङ वरपर कम्पनका कारण क्षति पुगेका करिब ३० घरपरिवारलाई अस्थायी टहरा बनाउन न्यूनतम १ लाख ७५ हजारदेखि अधिकतम ३ लाख रुपियाँसम्म वितरण गरेको थियो। आयोजना, जिल्ला प्रशासन र गाउँपालिका जिम्मेवारीबाट पन्छिन खोज्दा प्रभावितले क्षतिपूर्ति पाउन ढिलाइ भएको स्थानीय लेखनाथ शर्माको भनाइ छ।

जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय, गाउँपालिका र आयोजनाका प्राविधिकहरूको टोलीले गरेको स्थलगत निरीक्षणका क्रममा सुरुङ क्षेत्रमा पर्ने ३५० भन्दा बढी घरमा क्षति पुगेको प्रारम्भिक विवरण तयार पारेको थियो। उक्त प्रतिवेदनप्रति अध्ययनमा सहभागी निकायकै जिम्मेवार व्यक्तिहरूले अपनत्व नलिँदा क्षतिपूर्ति वितरणमा ढिलाइ भएको रघुगङ्गा गाउँपालिका–३ का वडाध्यक्ष खीमबहादुर शाहीले बताए ।

राहुघाट जलविद्युत् आयोजनाका प्रमुख राजबहादुर विष्टले भने प्राविधिक टोलीको प्रतिवेदन प्राप्त हुन बाँकी रहेको र सिफारिसका आधारमा नियमसङ्गत क्षतिपूर्ति वितरणको तयारीमा रहेको जानकारी दिएका छन्। रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले क्षतिको प्रकृतिअनुसार वर्गीकरण गरेर क्षतिपूर्ति वितरणका लागि सहजीकरण तथा समन्वय गरिएको बताएका छन्। सरकारी स्वामित्वको आयोजना भएकाले जिल्ला प्रशासन, उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण क्षतिपूर्ति वितरणमा जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।

भौतिक संरचना निर्माण सकिएको राहुघाट जलविद्युत् आयोजना हाल परीक्षण उत्पादनको तयारीमा छ। भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा कम्पनीको अवधारणा र इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा यो आयोजना निर्माण गरिएको हो।

कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो। पछिल्लो पटक छनौट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी) ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो। यस आयोजनाले वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । रासस

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update