Khabar Out
बनेपामा १० हजार कन्या पुजिँदै

काभ्रे । शुक्रुबार बनेपामा १० हजार कन्याको ‘कन्या पूजा’ हुँदैछ । बिहान १० बजेदेखि बनेपा भोलाखाटोलस्थित गणेश स्थानबाट कन्या पूजा गर्न सुरु गरिएको हो। प्रत्येक वर्ष बनेपामा श्रीकृष्ण जन्माष्टमीका अवसरमा कन्याकेटीको पूजा गरिन्छ । रजस्वला नभएका १० हजार कन्यालाई सडकको दायाँबायाँ बसालेर पूजा गरिने परम्परा सुरु भएको १२४ वर्ष पुगेको छ।

१९५९ देखि पूजा गर्न सुरु भएको सनातन कन्या पूजा प्रबन्ध समितिले बताएको छ । हिन्दू धर्मअनुसार कन्यालाई देवीको स्वरूप मानिन्छ । कन्या पूजा गर्दा देवी प्रसन्न हुन्छिन भन्ने जनश्रुती पाइन्छ। कन्याको पूजा गर्नाले परिवारमा सुख, शान्ति, समृद्धि, आरोग्य र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ ।

कन्या पूजा समितिका उपाध्यक्ष सुरकृष्ण वैद्यका अनुसार ठुलो सङ्ख्यामा कन्याको पूजा आयोजना गर्दा धार्मिक श्रद्धासँगै सामाजिक एकता, सद्‌भाव र बालिकाप्रतिको सम्मानको सन्देश प्रवाह हुन्छ।

कन्याको सङ्ख्या बढ्दै गएपछि पूजा व्यवस्थापनलाई सहज बनाउन समितिले बजार व्यवस्थापन, बाजागाजालगायतका तयारी गर्दै आएको छ । समितिले पूजाको करिब एक महिनाअघिदेखि प्रचारप्रसार समेत गर्दै आएको जनाएको छ।

पूजाका क्रममा बालिकालाई विधिपूर्वक पूजा गरी प्रसाद तथा दक्षिणा वितरण गरिन्छ। भक्तजनले आफ्नो इच्छाअनुसार कन्यालाई प्रसाद तथा उपहार प्रदान गर्ने परम्परासमेत रहेको छ। जातीय तथा अन्य कुनै पनि विभेद नगरी सबै कन्यालाई समान रूपमा पूजा गर्ने परम्परा नै कन्या पूजाको मौलिकता हो । रासस

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update