Khabar Out
इलामका किसानको आकर्षण व्यावसायिक स्कुस खेतीतर्फ

इलाम । इलामका किसानले नेपालको मध्य पहाडी र उच्च भेगमा समेत उत्पादन हुने बहुगुणी तरकारी स्कुसबाट राम्रो आम्दानी गरिरहेका छन् । कम मेहनतमा राम्रो आम्दानी हुने भएपछि यहाँका किसान स्कुस खेतीतर्फ आकर्षित भएका हुन् ।

वैशाखदेखि कात्तिकसम्म उत्पादन हुने स्कुसबाट किसानले मनग्य आम्दानी गरिरहेका छन् । यहाँका किसानले नगदेबालीको रूपमा व्यावसायिक स्कुस खेती गरिरहेको पाइएको छ । सूर्योदय नगरपालिका–८ किसान दिनेश महतले ४० रोपनी क्षेत्रफलमा व्यावसायिक स्कुस खेती गर्दै आउनुभएको छ । चार वर्षदेखि व्यावसायिक स्कुस खेती गर्दै आएका महतको आम्दानीको मुख्य स्रोत नै स्कुस बनेको छ । उनले विस २०७९ मा ‘बीएन्डएम कृषि तथा पशुपालन फार्म’ दर्ता गरी व्यावसायिक स्कुस खेती सुरु गरेका हुन् ।

स्कुस बेचेर उनले वार्षिक रु १२ लाखसम्म आम्दानी गर्दै आएका छन् । “मैले चार वर्षदेखि व्यावसायिक स्कुस खेती गर्दै आएको छु, अहिले ४० रोपनी क्षेत्रफलमा स्कुस खेती विस्तार गरेको छु,” उनले भने, “गत वर्ष रु १२ लाखको स्कुस बेचेको थिएँ, यस वर्ष धमाधम बिक्री भइरहेको छ ।”

भिरालो तथा थोरै जमिनमा पनि धेरै फल्ने, सस्तो, स्वादिलो र मध्य पहाडी तथा हिमाली क्षेत्रमा भान्सामा धेरै पाक्ने तरकारीका रूपमा स्कुसलाई लिने गरिएको छ । स्कुसको मुन्टा र जरा समेत तरकारीका लागि स्वादिष्ट र स्वस्थ्यकर मानिन्छ ।

सूर्योदय नगरपालिका–९ आरीदाङका प्रेमबहादुर खड्काले २५ रोपनी क्षेत्रफलमा व्यावसायिक स्कुस खेती गर्दै आउनुभएको छ । गत वर्ष उनले स्कुस बिक्रीबाट रु १३ लाख आम्दानी गरेका खड्काले यस वर्ष आम्दानी बढ्ने बताए । “मैले २५ वर्षदेखि व्यावसायिक स्कुस लगाउँदै आएको छु । गत वर्ष रु १३ आम्दानी गरेको थिएँ,” उनले भने, “यस वर्ष खेती विस्तार गरेकाले आम्दानी बढ्ने अपेक्षा छ ।” उनले यस वर्ष थप तीन रोपनी क्षेत्रफलमा स्कुस खेती विस्तार गर्नुभएको बताए।

व्यावसासियक स्कुस खेतीबाट राम्रो आम्दानी हुने थापा पाएपछि सूर्योदय नगरपालिका–८ कँजेनीका किसान चन्द्र गुरुङ गुरुङले पनि स्कुस खेती सुरु गरेका छन् । तीन अघि चार रोपनी क्षेत्रफलमा स्कुस रोप्नुभएका गुरुङले आम्दानी राम्रो भएपछि खेती विस्तार गर्ने योजना रहेको बताए । ‘मैले परीक्षणका लागि तीन वर्षअघि चार रोपनी क्षेत्रफलमा स्कुस रोपेको थिएँ, राम्रै आम्दानी हुँदो रहेछ,’ उनले भने, ‘अब व्यावसायिक रूपमा स्कुस खेती लगाउने योजनमा छु ।’

यहाँका अधिकांश किसानले नगदेबालिको रूपमा स्कुस खेती गरी मनग्य आम्दानी गरिरहेका छन् । यहाँका प्रत्येक किसानले कम्तीमा तीन रोपनीदेखि ४० रोपनी क्षेत्रफलमा स्कुस खेती गर्दै आएका छन् । यहाँका फिक्कल, पशुपतिनगर, पञ्चकन्या, कन्याम, समाल्बुङलगायतका किसानहरु व्यावसायिक स्कुस खेती गर्दै आएका छन् । यातायातको सहज सुविधा भएको यहाँ स्कुस खरिद गर्नका लागि व्यापारीहरु घरैसम्म पुग्ने गरेका छन् । चियाखेतीलाई पनि सँगसँगै अङ्गालेका यहाँका किसानको आर्थिक अवस्था उकास्न स्कुस खेतीले मद्दत पुर्‍याएको छ ।

देशका इलाम, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सिन्धुली, रामेछाप लगायतका जिल्लामा उपयुक्त हावा पानी भएकाले स्कुसको राम्रो उत्पादन भएको पाइन्छ ।

पूर्वी नेपालका जिल्लमा उत्पादित स्कुस व्यापारीले झापा, मोरुङ र सुनसरीहुँदै भारतीय बजारमा लैजाने गरेका छन् । व्यापारीले स्कुस प्रतिमन अर्थात् ४० केजीलाई रु २५० देखि रु एक हजार ६०० सयसम्ममा खरिद गर्ने गरेको पाइन्छ । उत्पादनको सुरुमा प्रतिमन रु ६०० सय सम्म बिक्री भइरहेको स्कुस यतिबेला भने प्रतिमन रु २५० मा मात्र बिक्री भइरहेको किसान महतले बताए ।

“मूल्य राम्रो हुँदा आम्दानी पनि राम्रै हुन्छ, मूल्य नहुँदा आम्दानी पनि कम हुन्छ,” महतले भने, “बजार स्थिर हुने हो भने स्कुसबाट राम्रो फाइदा लिन सकिन्छ ।” स्कुस खेतीलाई अन्य खेतीजस्तो स्याहारसुसार गरिरहन नपर्ने भएकाले धेरै खर्च नलाग्ने कृषक महतको भनाइ छ । रासस

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update