Khabar Out
गौरीघाट क्षेत्रलाई मौलिक स्वरूप दिइँदै

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले गौरीघाट गुह्येश्वरी क्षेत्रमा ढुङ्गा छपाइ सुरु गरेको छ । करिब एक हजार ७०० वर्ग मिटरमा ढुङ्गा छापिनेछ । प्राचीन महत्वका क्षेत्रका रूपमा रहेको उक्त स्थानमा कालोपत्र हटाई ढुङ्गा छाप्न थालिएको वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले जानकारी दिए।

करिब रु ८७ लाख लागतमा पहिलो चरणको काम सुरु भएको हो । दोस्रो चरणमा एक हजार १०० वर्ग मिटरमा ढुङ्गा छाप्नका लागि रु ९० लाखमा खरिद प्रक्रिया अगाडि बढाएको छ ।

अध्यक्ष सङ्गतले, पुरातात्विक महत्वका क्षेत्रमा यसअघि कालोपत्रे गरिएका सडकलाई परम्परागत निर्माण शैली र विधिअनुसार पुनः स्थापना गरिएको बताउनुभयो । “पशुपति क्षेत्र, जयवागेश्वरी, नवाली टोल, गुह्येश्वरी जस्ता प्राचीन महत्वका स्थानहरू हाम्रो वडाको परिचय हो । यी स्थानमा मौलिक स्वरूप पुनः स्थापना अभियान सञ्चालन गरेका छौँ,” अध्यक्ष सङ्गतले भने ।

सेतोढोका, जयबागेश्वरी, पशुपतिको ढोका, नवाली टोलका सहायक गल्ली, तिलगङ्गा देउला टोलका सबै सडक र गल्लीमा ढुङ्गा छापिएको छ ।

यस्तै, जय बागेश्वरी उमाकुण्ड र आसपासका गल्लीमा काम सुरु हुँदैछ । मौलिक स्वरूपमा पुनःस्थापनाका लागि रु चार करोड ५० लाख बराबरको खर्च भएको छ । गौरीघाट गुह्येश्वरी मार्गमा कालो रङ्गका, चार इन्च मोटाइका ढुङ्गा छापिनेछ । ढुङ्गाको तहमुनी करिब चार इञ्चको चुना ढलान राखिनेछ । कुनै पनि आधुनिक निर्माण सामग्रीको प्रयोग गरिनेछैन । ढुङ्गा, चुनालगायत सामग्रीको प्रयोग हुनेछ । रासस

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update