तनहुँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन गरेको वृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट जिल्लाका ५६५ जना किसान लाभान्वित भएका छन्।
आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिएको उक्त कार्यक्रमका लागि विनियोजित ३० लाख रूपैयाँ बजेटमध्ये २९ लाख ३१ हजार रूपैयाँ खर्च भएको केन्द्रले जनाएको छ।
पशुपालन व्यवसायलाई व्यवस्थित, व्यावसायिक तथा उत्पादनमुखी बनाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा बङ्गुर, बाख्रा तथा दुग्ध उत्पादनतर्फका कृषक समूहलाई लक्षित गरी पूर्वाधार निर्माण तथा आवश्यक सामग्री र उपकरण सहयोग गरिएको पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीले जानकारी दिए।
कार्यक्रमअन्तर्गत एक बङ्गुरपालक कृषक समूहमा आबद्ध किसानको बङ्गुरको खोर सुधार गरिएको छ। यसबाट बङ्गुरपालनलाई व्यवस्थित बनाउनुका साथै पशुको स्वास्थ्य र उत्पादनमा सुधार ल्याउने लक्ष्य राखिएको छ। त्यसैगरी दुईवटा बाख्रापालक कृषक समूहमा आबद्ध २४ जना किसानको बाख्राको खोर मर्मत तथा निर्माण गरिएको छ। ११ जना किसानलाई चापकटर तथा कम्बाइन मिल सहयोग गरिएको छ, जसबाट घाँस तथा दाना व्यवस्थापनमा श्रम र समय बचत हुने अपेक्षा छ।
बाख्राको नश्ल सुधार र उत्पादन क्षमता बढाउन दुईवटा प्रजनन बोका उपलब्ध गराउनुका साथै दुईवटा फार्ममा जैविक सुरक्षा कायम गर्न घेराबार निर्माण गरिएको छ। किसानको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन र पशु स्वास्थ्यका लागि आवश्यक औषधि वितरण गरिएको थियो ।
दुग्ध उत्पादनतर्फ दुईवटा दुग्ध उत्पादक कृषक समूहका किसानहरूलाई ६१३ वटा स्टिल क्यान वितरण गरिएको छ। स्टिल क्यानले दूधको स्वच्छता र गुणस्तर सुधारमा सहयोग पुग्ने बताइएको छ। केन्द्रले पशुपालन क्षेत्रका आवश्यकता पहिचान गरी उत्पादन, स्वास्थ्य, पूर्वाधार र व्यावसायीकरणमा सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ । रासस






