धनुषा । देशका विभिन्न स्थानमा बाढीपहिरोलगायत प्राकृतिक विपत्तिका कारण ठुलो जनधनको क्षति भइरहेका बेला महोत्तरीबाट राहत तथा उद्धारका लागि सहयोग जुट्ने क्रम जारी छ । व्यक्तिगत उत्सवदेखि सामाजिक तथा शैक्षिक संस्थासम्मले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेका छन् ।
महोत्तरीको एक गाउँमा जन्मिएका व्यवसायी शम्भुनाथ झाले आफ्नो जन्मदिनको अवसरमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ११ लाख एक सहयोग गरेका छ । उनले व्यक्तिगत खुसीभन्दा विपद्मा परेका नागरिकको सहयोगलाई प्राथमिकता दिँदै जन्मदिनमा हुने खर्च सहयोग गरेका हुन् ।
झाले देश नै विपत्तिमा परेका बेला व्यक्तिगत उत्सवमा मात्र रमाउनु उचित नलागेकाले प्रभावित नागरिकको पीडामा आफ्नो तर्फबाट साथ दिने उद्देश्यले सहयोग गरेको बताए ।
“देश नै विपत्तिमा परेका बेला व्यक्तिगत खुसीमा मात्र रमाउनु उचित लागेन । बाढी तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पीडामा थोरै भए पनि साथ दिनुपर्छ भन्ने सोचले जन्मदिनको अवसरमा सहयोग गरेको हुँ”, उनले भने ।
बर्दिबासका सामाजिक अभियन्ता तथा योगगुरु सुमित्रा भट्टराईले रु ५१ हजार सहयोग गरेका छन् । भोटेकोशीमा आएको बाढीबाट ठुलो क्षति भएपछि प्रभावित परिवार राहत तथा पुनःस्थापनाको पर्खाइमा रहेका बेला मानवीय भावनासहित सहयोग गरिएको भट्टराईले बताइन् ।
उनले विपद्का बेला सहयोग गर्नु सामाजिक दायित्व भएको उल्लेख गर्दै सहयोगको रकम ठुलो वा सानोभन्दा पनि पीडितप्रतिको साथ, सहानुभूति र मानवीय भावना महत्त्वपूर्ण हुने उल्लेख गरिन् ।
त्यसैगरी बर्दिवास उद्योग वाणिज्य सङ्घको सहकार्यमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा श्री कृष्णचन्द्र ट्रेडर्सका सञ्चालक पोषण थापाले रु ५१ हजार सहयोग गरेका छन् ।
त्यस्तै मोनास्टिक स्कुल/कलेजले रु पाँच लाख एक हजार सहयोग गर्ने भएको छ । प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत तथा पुनः स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम उपलब्ध गराउन लागिएको विद्यालयले जनाएको छ ।
विद्यालयका निर्देशक डा सोनु साहले विपद्का बेला पीडितपरिवारको साथमा उभिनु सबैको साझा सामाजिक दायित्व भएको बताउनुभयो । सहयोगकर्ताले विपद्को यस कठिन घडीमा सरकार, निजी क्षेत्र, सामाजिक संस्था तथा नागरिक समाज सबैले आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग तथा सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । रासस






