काठमाडौं । हालै आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सहजीकरण गर्ने उद्देश्यले सुविसु ले थप ७ दिनको सेवा अवधि उपलब्ध गराएको छ ।
कम्पनीका अनुसार बाढीका कारण सेवा अवरुद्ध भएको अवधिमा कनेक्सनको म्याद समाप्त भएका ग्राहकलाई अतिरिक्त ७ दिनको सेवा अवधि प्रदान गरिएको हो ।
भदौ १० गते आएको भीषण बाढीपछि विशेषगरी भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा भएको क्षतिका कारण बट्टार, चरौंदी, चौघडा, देवीघाट, धादिङ, हुङ्दीखोला, खाल्टे, खानीखोला, गल्छी, धार्के र मलेखु लगायतका क्षेत्रमा क्ग्द्यक्ष्क्ग् का इन्टरनेट सेवाहरू प्रभावित भएका छन् ।
सेवा पुनःस्थापनाका लागि कम्पनीले प्रभावित क्षेत्रमा निरन्तर काम गरिरहेको जनाएको छ । सुविसुका प्रमुख सञ्चालन अधिकृत (सीओओ) सुबास अधिकारीले स्थानीय अवस्था तथा पहुँचलाई ध्यानमा राख्दै प्राविधिक टोलीहरू सेवा यथाशीघ्र पुनःस्थापना गर्न फिल्डमा सक्रिय रूपमा खटिएको जानकारी दिए ।
“प्रभावित क्षेत्रमा नेटवर्क तथा इन्टरनेट सेवा पुनःस्थापनाको कार्यलाई निरन्तरता दिइरहेका छौं,” अधिकारीले भने, “सेवा पुनःस्थापनासँगै फिल्डमा खटिएका हाम्रा प्राविधिक टोलीहरूको सुरक्षालाई पनि उच्च प्राथमिकतामा राखिएको छ।”
बाढीका कारण सेवा प्रभावित भएका ग्राहकको सेवा अवधि प्रभावित नहोस् भन्ने उद्देश्यले थप ७ दिनको सेवा अवधि उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
प्रभावित ग्राहकहरूले सेवा तथा पुनःस्थापनासम्बन्धी थप जानकारीका लागि सुविसुको ग्राहक सहायता केन्द्रमा सम्पर्क गर्न सक्नेछन् ।







