काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं केन्द्रीय महाधिवेशनको तयारीलाई अघि बढाउँदै बैठक बोलाएसँगै पार्टीभित्र महाधिवेशनको तयारीले झनै विवाद पुनः सतहमा आउने संकेत देखिएको छ ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा रहेको ‘१५ औं केन्द्रीय महाधिवेशन तयारी समिति’ले भदौ १७ गते बैठक बोलाएको हो । संस्थापन इतर समूहले गठन गरेको उक्त समितिको बैठकले महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषय र विविध विषयमा छलफल गर्ने जनाएको छ ।
सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइकेलका अनुसार बैठकका लागि तीन वटा एजेन्डा तय गरिएको छ । १५ औं महाधिवेशनको तयारीसँगै पार्टीभित्र देखिएको समसामयिक विषयमा समेत छलफल हुने उनले जानकारी दिए ।
बैठक भदौ १७ गते दिउँसो १ बजे चुनदेवीस्थित संस्थापन इतर समूहको सम्पर्क कार्यालयमा बस्नेछ ।
बैठकमा १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरूलाई समेत आमन्त्रण गरिएको कुइकेलले जानकारी दिए ।
संस्थापन इतर समूहले छुट्टै सम्पर्क कार्यालय र महाधिवेशन तयारी समिति सक्रिय बनाउँदै गतिविधि अघि बढाएपछि कांग्रेसभित्र यसको राजनीतिक र सांगठनिक अर्थबारे चर्चा सुरु भएको छ। पार्टीको आगामी १५ औं महाधिवेशनलाई लिएर संस्थापन र संस्थापन इतर समूहबीच नेतृत्व, संगठन तथा प्रक्रियागत विषयमा मतभेद देखिँदै आएको छ ।
विशेषगरी महाधिवेशनको तयारी कसले र कसरी अघि बढाउने भन्ने विषयले पार्टीभित्र आधिकारिकताको प्रश्नसमेत उठाउन थालेको कांग्रेस नेताहरू बताउँछन् । संस्थापन इतर समूहले आफ्नै संरचनामार्फत महाधिवेशन तयारी समिति बनाएर गतिविधि तीव्र पारेको अवस्थामा पार्टीको औपचारिक संयन्त्र र इतर समूहको तयारीबीच समन्वय हुने वा विवाद थप चर्किने भन्ने चासो बढेको छ ।
आगामी बैठकले महाधिवेशनको तयारीका विषयमा कस्तो निर्णय लिन्छ र त्यसले पार्टीभित्रको आधिकारिकता तथा नेतृत्व विवादलाई कुन दिशातर्फ लैजान्छ भन्ने विषयलाई कांग्रेसभित्र चासोका साथ हेरिएको छ ।







