Khabar Out
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापति पदमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन् । निर्वाचन परिणामअनुसार भण्डारी र आचार्य खुलातर्फ तथा चौधरी समावेशीतर्फबाट उपसभापतिमा विजयी भएका हुन् ।

खुलातर्फ सबैभन्दा बढी मत प्राप्त गर्दै चन्द्रकान्त भण्डारीले ३ हजार ७३५ मतसहित उपसभापतिमा बाजी मारेका छन् । त्यस्तै, मधु आचार्यले २ हजार ३४२ मत प्राप्त गर्दै उपसभापति पदमा विजय हासिल गरेका छन् ।

खुलातर्फको प्रतिस्पर्धामा गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा.डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन् ।

यता, उपसभापतिको समावेशीतर्फ विनोदकुमार चौधरी १ हजार ७४५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत प्राप्त गरेका छन् ।

समावेशीतर्फको प्रतिस्पर्धामा फरमुल्लाह मंसुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको उपसभापति पदको निर्वाचनमा तीनै जना उम्मेदवार विजयी भएसँगै पार्टीको नयाँ नेतृत्व चयन प्रक्रियाले थप गति लिएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update