Khabar Out
गाजाको युद्धविराम नाजुक

काठमाडाैँ। गाजामा जारी युद्धविराम नाजुक अवस्थामा रहेको तथा कब्जामा रहेको वेस्ट ब्याङ्कमा हिंसा र तनाव बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसङ्घले गम्भीर चिन्ता व्यक्त गरेको छ। राष्ट्रसङ्घले गाजामा आवश्यक सेवा तथा मानवीय सहायता तत्काल पुनःस्थापना गर्न र वेस्ट ब्याङ्कमा सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै पश्चिम एसिया शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष समन्वयकर्ता रमिज अलक्बरोभले गाजाका बासिन्दाले असहनीय अवस्था र अत्यधिक पीडा भोगिरहनुभएको बताए।

उनले १५ सूत्रीय रोडम्याप पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै यसबाट अवैध कब्जाको अन्त्य, प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकार सुनिश्चित तथा दुई–राज्य समाधानतर्फ अघि बढ्ने राजनीतिक प्रक्रियाको आधार तयार हुने बताए।

उनले सुरक्षा परिषद्को प्रस्ताव २८०३ तत्काल कार्यान्वयन गर्न पनि आग्रह गर्नुभयो । गाजामा स्वास्थ्य सेवा, सरसफाइ तथा फोहोर व्यवस्थापनलगायत अत्यावश्यक सेवा पुनःस्थापना गर्नुपर्ने बताउँदै मानवीय सहायता सामग्रीको आपूर्तिमा जारी प्रतिबन्ध र अपर्याप्त कोषप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

वेस्ट ब्याङ्कमा बस्ती विस्तारसँग सम्बन्धित व्यापक आक्रमण तथा दोषीलाई जवाफदेही बनाउने कार्यमा देखिएको कमीको पनि अलक्बरोभले निन्दा गरे। उनले इजरायललाई कब्जा गर्ने शक्तिका रूपमा सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न र हिंसामा संलग्नलाई जवाफदेही बनाउन आग्रह गरे।

यसैगरी, पूर्वी जेरुसेलमस्थित प्यालेस्टिनी शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय युएनआरडब्लुएको प्रशिक्षण केन्द्रमा इजरायली अधिकारीहरूले जबर्जस्ती प्रवेश गरेको रिपोर्टप्रति उनले आपत्ति जनाए। राष्ट्रसङ्घीय सुविधामा जबर्जस्ती प्रवेश, कब्जा वा नियन्त्रण गर्ने प्रयास रोक्न उनले आह्वान गरे।

अलक्बरोभले गाजाको युद्धधविरामलाई स्थायी शान्तितर्फ लैजान मानवीय सहायता, अत्यावश्यक सेवाको पुनःस्थापना र राजनीतिक प्रक्रियालाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  २१:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update