इजिप्टको एक औषधि कम्पनीले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको घातक इबोला प्रजातिका विरुद्ध सम्भावित खोप विकास गरिरहेको बिहीबार घोषणा गरेको छ ।
कम्पनीले भनेको छ, “इजिप्टको मिनाफार्मले महामारी तयारी नवप्रवर्तन समिति (सिइपिआई) बाट बन्डिबुग्यो प्रजातिको इबोलाविरुद्धको खोप बनाउन एक करोड ६५ लाख ५० हजार अमेरिकी डलरसम्म पाउने छ ।”
यो खोप विकास मिनाफार्मको बर्लिनस्थित सहायक कम्पनी प्रोबायोजेनद्वारा विकास गरिएको हो ।
यो सिइपिआईद्वारा वित्तपोषित पाँचौं बन्डिबुग्यो उम्मेदवार खोप हो, जसलाई प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको प्रकोप नियन्त्रण गर्ने उपकरण खोज्ने होडमा विकास गरिँदैछ ।
यो रकमले यसलाई प्रयोगशाला चरणबाट अगाडि बढाएर तथाकथित पहिलो क्लिनिकल परीक्षण चरण (मानवमा सानो स्तरको परीक्षण) सम्म पुर्याउने छ ।
सुरक्षा र प्रतिरक्षा प्रतिक्रिया उत्पन्न गर्ने क्षमता निर्धारण गर्ने यो परीक्षण अफ्रिकामा हुने अपेक्षा गरिएको छ ।
इबोलाको बन्डिबुग्यो प्रजातीका लागि कुनै विशिष्ट खोप वा उपचार छैन, यो नियन्त्रण प्रयासहरूभन्दा छिटो फैलिरहेको छ ।
मे १५ मा प्रकोप घोषणा भएदेखि प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पाँच हजार ६०० भन्दा बढी इबोला सङ्क्रमित विरामी रहेको पुष्टि भएको छ भने दुई हजार ७०० भन्दा बढी विरामीको मृत्यु भएको छ।
अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का महानिर्देशकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अफ्रिकी कम्पनीद्वारा अगाडि बढाइएको खोपको विकासको प्रयास यो प्रकोपका लागि मात्र होइन, अफ्रिकाले आफ्ना जनतालाई जोगाउन आवश्यक उपकरणहरू विकास र उत्पादन गर्न सकोस् भन्नका लागि हाम्रो महाद्वीपलाई चाहिने ठ्याक्कै त्यस्तै क्षमता हो ।”
ओस्लोस्थित सिइपिआईले अन्य चार बुन्डिबुग्यो प्रजातीका खोपहरूलाई वित्तपोषण गरिरहेको छ, जुन विकासका विभिन्न चरणमा छन् ।
यी मध्ये मोडर्नाले ‘एमआरएनए’ प्रविधि प्रयोग गरेर; अक्सफोर्ड विश्वविद्यालय र भारतको सिरम इन्स्टिच्युटले ‘चाएडओक्स’ प्लेटफर्म प्रयोग गरेर र हिल्म्यान तथा पब्लिक हेल्थ भ्याक्सिन्सले ‘आरभिएसभी’ प्रविधि प्रयोग गरेर एक–एक खोप विकास गरिरहेका छन्।
मिनाफार्मको विकसित भइरहेको खोपले एमभिए प्लेटफर्म प्रयोग गर्छ र दीर्घकालीन प्रतिरक्षाका लागि ‘बि’ र ‘टि’ कोशिका दुवै प्रतिक्रिया उत्पन्न गर्न बनाइएको एकमात्र खोप हो।







