Khabar Out
पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

चितवन । पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको छ । नगर क्षेत्रका पशुमा रेविजको लक्षण देखिएको हो । रत्ननगर –९ र १० को नमूनामा रोगको सङ्क्रमण पुष्टि भएको छ ।

पशु सेवा कार्यालयका प्रमुख डा प्रभात न्यौपानेका अनुसार जर्सी गाईमा रोग सङ्क्रमण पुष्टि भएको हो । उनका अनुसार यो रोग लागेका गाई भैँसीले र्याल काड्ने, टाउको भित्तामा ठोक्ने, मान्छे या अन्य जनावारलाई टोक्न खोज्ने, पानी खान नखोज्ने, घाँस खान नखोज्ने, दूध घटाउने र मर्ने हुन्छ । कुकुर बिरालामा रेविजविरुद्धको भ्याक्सिन लगाइए पनि अन्य पशु चौपायमा खासै यसको सुई लगाइँदैन ।

रोगको सङ्क्रमण देखिएसँगै सङ्क्रमित क्षेत्रमा पालिएका पशु चौपायमा रोविजविरुद्धको खोप लगाउन सुरु गरिएको छ । यो रोग लाइसा नामक भाइरसका कारण लाग्ने गर्दछ । जिल्लाका अन्य पालिकाहरुमा समेत यस रोगको सङ्क्रमण देखिन सक्ने जनाउँदै उहाँले पशुपालक किसानलाई उच्च साबधानी अपनाउन आग्रह गरे ।

रत्ननगर नगरपालिकाकी पशु चिकित्सक अनुस्का राजभण्डारीका अनुसार पालिकाका विभिन्न वडामा पालिएका पशुमा यो रोगको सङ्क्रमण देखिएको छ । यहाँका पशुहरुको नमूना सङ्कलन गरी परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौँ पठाइएको छ । रोगको सङ्क्रमण देखिए पछि सङ्क्रमित क्षेत्रमा उच्च सतर्कता अपनाइएको उनले जानकारी दिइन् । उनका अनुसार यस आर्थिक वर्षमा सो पालिकामा चार वटा नमूना सङ्कलन गरिएको छ । दुई वटा नमूनाको परिक्षणका लागि पठाउने तयारी गरिएको छ । दुई वटामा सङ्क्रमणको पुष्टि भइसकेको छ । पशु मरेपछि नमूना परीक्षणका लागि पठाउने गरिन्छ ।

सङ्क्रमणको लक्ष्याण देखिएका नौदेखि १० दिनको बीचमा पशु मर्ने गरेको उनले जानकारी दिइन् । यस पालिकाको वडा नम्बर ९, १० र १६ मा रेविजको सङ्क्रमण देखिएको हो । यस क्षेत्रमा न्याउरी मुसा र स्यालको टोकाइले रेविज सरेको उनको अनुमान छ । रेविजको सङ्क्रमण देखिएका क्षेत्रमा रहेका पशु तथा मानिसहरुमा रेविजविरुद्धको सुई दिन थालिएको उनले जानकारी दिइन् ।

कुकुर र जङ्गली जनावरको टोकाइबाट सर्ने यस रोग जङ्गलको आसपासमा रहेका कृषकहरुलाई सतर्कता अपनाउन र लक्ष्यण देखिए तत्काल खबर गर्न अनुरोध गरिएको उनले बताइन् । जनावरले टोकेको वा चिथोरेको ठाउँमा तुरुन्तै १५ मिनेटसम्म साबुन र बगिरहेको सफा पानीले राम्ररी धुने, चिकित्सकको सल्लाहअनुसार तुरुन्तै र तोकिएको तालिकाअनुसार रेविजविरुद्धको खोप लगाउने, घरपालुवा कुकुर र बिरालालाई नियमित रूपमा प्रत्येक वर्ष रेविजविरुद्धको खोप लगाउने, शङ्कास्पद वा अनौठो व्यवहार देखाएका पशुहरूलाई अन्य जनावर र मानिसबाट टाढा सुरक्षित ठाउँमा थुनेर राख्ने गर्नुपर्ने उनले सुझाब दिइन् । रासस

 

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update