काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन र नामावली अद्यावधिक गर्न सम्बन्धित परिवारका सदस्य तथा सरोकारवालालाई आग्रह गरेको छ ।
आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेका हुन् ।
आयोगले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा अद्यावधिकको कार्य गर्दै आइरहेको छ। मतदाताको मृत्यु भएपछि एकाघर परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा सूचना दिई नाम हटाउन सक्ने व्यवस्था छ। मतदाता नामावलीलाई अद्यावधिक गर्नु निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयताको आधार भएको आयोगले जनाएको छ ।
अघिल्लो निर्वाचनपछि गत चैत २२ गतेबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य निरन्तर सञ्चालन हुँदै आएको छ ।
राष्ट्रिय परिचयपत्र भएका नागरिकले सोही आधारमा अनलाइन प्रणालीमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने प्रावधान रहेको छ। राष्ट्रिय परिचयपत्र नभएका नागरिकले भने आयोगको प्रणालीमार्फत फारम भरी फोटो तथा औँठाछापसहितको जैविक विवरण दिन सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्छ ।
त्यसैगरी मतदाता नामावलीमा नाम, थर वा ठेगाना सच्याउने, एउटै वडाभित्र मतदातालाई पायक पर्ने स्थानमा मतदानस्थल सार्ने, नागरिकता अनुसारको विवरण मिलाउने तथा दोहोरो नाम हटाउनका लागि अनलाइन माध्यमबाट आवेदन दिन सकिने व्यवस्था छ ।
मतदाता नामावली दर्ता, अद्यावधिक वा अन्य प्रक्रिया सम्बन्धी जानकारीका लागि नेपाल निर्वाचन आयोगको आधिकारिक वेबसाइट हेर्न सकिन्छ । रासस







