चितवन । चितवनको रत्ननगर नगरपालिकाले बिना नक्सापास निर्माण गरिएका पुराना संरचनाको अभिलेखीकरण तथा नक्सापास गर्ने प्रक्रिया र स्वीकृत मापदण्डविपरीत निर्माण गरिएका संरचनाको निर्माण सम्पन्न प्रमाणपत्र जारी गर्ने कार्य रोक लगाएको छ ।
सहरी विकास मन्त्रालय (भवन निर्माण व्यवस्था सुदृढीकरण समिति) तथा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र तथा निर्णयअनुसार नगरपालिकाले उक्त प्रक्रिया रोकेको हो । नगरपालिकाले आफ्ना १६ वटै वडा कार्यालयलाई परिपत्र गर्दै यससम्बन्धी सूचना नागरिकसम्म पुर्याउन निर्देशन दिएको नगरपालिकाको भूमि व्यवस्थापन तथा भवन नियमन शाखाका इन्जिनियर प्रकाशचन्द्र ढुङ्गानाले जानकारी दिए ।
उनका अनुसार अब पुराना नक्सापास नभई निर्माण गरिएका घर, टहरा तथा अन्य संरचनाको अभिलेखीकरण गरी नक्सापास गर्ने कार्य गरिने छैन । त्यस्तै, नगरपालिकाबाट नक्सापास स्वीकृति लिएर स्वीकृत नक्साभन्दा फरक ढङ्गले संरचना निर्माण गर्ने, थप संरचना बनाउने वा आफूखुसी संरचना अदलबदल गर्ने र पछि त्यसलाई अभिलेखीकरण गरी वैधानिकता दिने प्रक्रिया पनि बन्द गरिएको छ । इन्जिनियर ढुङ्गानाले भने, “नगरपालिकाको अनुमति बेगर आफूखुसी संरचना निर्माण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यस्तो व्यवस्था गरिएको हो । अब त्यस्ता संरचनाको अभिलेखीकरण तथा निर्माण सम्पन्न प्रमाणपत्र जारी गरिने छैन ।”
उनले भवन निर्माणसम्बन्धी कानुनी मापदण्ड पालना नगरी संरचना निर्माण गर्ने र पछि त्यसलाई अभिलेखीकरणमार्फत कानुनी दायरामा ल्याउने प्रवृत्ति अन्त्य गर्न नगरपालिकाले प्रक्रिया कडाइ गरेको बताए । स्वीकृत नक्सा र मापदण्डअनुसार निर्माण गर्नुपर्नेमा त्यसविपरीत निर्माण गरिएका संरचनालाई पछि प्रक्रिया मिलाएर वैधानिकता दिने व्यवस्था अब नरहेको उनको भनाइ छ ।
त्यसैगरी, राजमार्गको केन्द्रविन्दुबाट तोकिएको सडक सीमा कायम नगरी निर्माण गरिएका संरचनालाई निर्माण सम्पन्न प्रमाणपत्र जारी नगरिने नगरपालिकाले जनाएको छ । राजमार्गको सडक सीमा सम्बन्धमा प्रचलित कानुन तथा नेपाल सरकारबाट तोकिएको मापदण्डअनुसार संरचना निर्माण गर्नुपर्ने इन्जिनियर ढुङ्गानाले बताए ।
नगरपालिकाका अनुसार रत्ननगरमा हाल नक्सापास नभएका तथा पुराना संरचनाको सङ्ख्या पाँचदेखि सात सयको हाराहारीमा रहेको अनुमान छ । नगरपालिकाभित्र करिब २२ हजार घरधुरी तथा भवन रहेको जनाइएको छ ।







