चितव । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका ग्यास उद्योगबाट भरी सिलिण्डर ल्याइर एकै ठाउँबाट बिक्री गरिरहेको छ ।
यसअघि जिल्लालाई पाँच क्षेत्रमा विभाजन गरेर भूगोलअनुसार व्यवसायीलाई बिक्री गर्न लगाएको प्रशासनले आज भरतपुर महानगरपालिका-९ मा रहेको केन्द्रीय बस ट्रमिनलबाट जिल्लाका तीन उद्योग र गैँडाकोटको एउटा उद्योगलाई ग्यास बिक्री गर्न लगाएको हो ।
दिउँसो १ः०० बजेदेखि जिल्लाका बाबा, साईबाबा, नेपाल ग्यास र नवलपुरको जानकी ग्यास उद्योगले सिधैँ उपभोक्तालाई भरी सिलिण्डर वितरण गरिरहेका छन् । सो क्रममा चार उद्योगले तीन हजार सिलिण्डर बिक्री गरिएको जनाएका हुन् ।
ग्यासको अभावसम्बन्धी स्थानीय प्रशासनको टोलफ्रि नम्बरमा आएका गुनासो सम्बोधन गर्दै एक हजारभन्दा बढी उपभोक्ताको घरमा ग्यास पुर्याइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । स्थानीय प्रशासनले ग्यास उद्योग, डिलरलगायतमा अनुगमन गर्दा पनि उपभोक्ताकोमा ग्यास नपुगेपछि उद्योगीमार्फत उपभोक्ताको घरमा पुर्याउन लागिएको उनले बताए ।
यसरी वितरण गर्दा पनि ग्यास पाउन नसकेका उपभोक्तालाई बसपार्कबाट वितरण गरिएको प्रजिअ अर्यालले जानकारी दिए । यसअघि वितरण गरिएका आधा शिलिण्डर सकिएसँगै एकैपटक माग बढेको हुनसक्ने उनले बताए । पछि पुनः ग्यास अभाव हुन्छ भन्ने लागेर पनि उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिण्डर भण्डारण गर्नाले अहिले ग्यासको समस्या देखिएको उनको भनाइ छ ।







