Khabar Out
दूरसञ्चार सेवाको गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गराैँ : सञ्चारमन्त्री

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको पहुँच विस्तारसँगै गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

सञ्चार मन्त्रालयमा शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमसँगको छलफलका क्रममा उनले टेलिफोन तथा इन्टरनेट सेवा कमजोर भएको गुनासो नागरिकबाट निरन्तर आइरहेको उल्लेख गर्दै सेवा विस्तार र गुणस्तर सुधारमा नियामक र सेवा प्रदायक दुवैले गम्भीर भएर परिणाममुखी काम गर्नुपर्ने बताएका हुन् ।

सो छलफलमा सञ्चारमन्त्री डा तिमिल्सिनाले नियामक निकाय र सेवा प्रदायक दुवै पक्षले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिँदै नेपाल टेलिकमप्रति नागरिकको अपेक्षा धेरै रहेकाले त्यसअनुसार सेवा सुधार गर्न निर्देशन दिए।

सरकारले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको ‘रूपान्तरणको वर्ष’ का रूपमा अघि बढाएको उल्लेख गर्दै उनले अब कामको परिणाम देखिनुपर्ने बताए। सञ्चारमन्त्रीले डा. तिमिल्सिनाले एकातर्फ दुर्गम र कतिपय सहरी क्षेत्रमै पनि नागरिकले टेलिफोन तथा इन्टरनेटको राम्रो सुविधा पाउन नसकेको तर अर्कोतर्फ ग्रामीण दूरसञ्चार विकासका लागि सङ्कलन हुँदै आएको ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) को रकम प्रभावकारी रुपमा खर्च हुन नसकेको बताए।

नागरिकबाट सङ्कलित रकम नागरिककै सेवा विस्तारमा खर्च हुनुपर्ने उल्लेख गर्दै उनले दुर्गम तथा सेवा नपुगेका क्षेत्रमा दूरसञ्चार पूर्वाधार विस्तारका लागि आरटिडिएफको प्रभावकारी परिचालन गर्न निर्देशन दिए।

“आरटिडिएफको पैसा नागरिकको पैसा हो । त्यसबाट नागरिक लाभान्वित हुनुपर्‍यो । त्यसको प्रभावकारी कार्यान्वयन भएको छ कि छैन भनेर नियामकले नियमन गर्नुपर्‍यो, सेवा प्रदायकले राम्रो सेवा दिनुपर्‍यो,” उनले भने।

सहरी तथा व्यावसायिक रूपमा लाभ हुने क्षेत्रमा सेवा प्रदायकले आफ्नै लगानीमा पूर्वाधार विस्तार गर्नसक्ने भए पनि आर्थिक प्रतिफल कम हुने दुर्गम क्षेत्रमा राज्यको भूमिका आवश्यक रहेको सञ्चारमन्त्री डा तिमिल्सिनाको भनाइ थियो।

कुनै स्थानमा मोबाइल टावर निर्माण गर्दा तत्काल व्यावसायिक नाफा नदेखिए पनि त्यहाँका नागरिकलाई सञ्चार सेवासँग जोड्नु राज्यको प्राथमिकता दायित्व रहेको उनले बताए। विशेषगरी दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दा नाफा र प्रतिफल मात्र हेर्नुभन्दा नागरिकलाई आधारभूत दूरसञ्चार सेवामा पहुँच पुर्‍याउने विषयलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

त्यसैगरी, सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपाल टेलिकमलाई सेवा विस्तार तथा गुणस्तर सुधारका लागि स्पष्ट व्यावसायिक योजना बनाएर अघि बढ्न र हाल सञ्चालन आउन नसकेका तथा विस्तार गर्नुपर्ने आयोजनालाई गति दिन निर्देशन दिए।

अप्टिकल फाइबर विस्तारको कामलाई तीव्रता दिन पनि उहाँले निर्देशन दिनुभएको छ । लामो समयदेखि अघि बढ्न नसकेका टावर निर्माण तथा अप्टिकल फाइबर विस्तारसम्बन्धी रुग्ण आयोजनालाई तत्काल टुङ्ग्याउन र ती आयोजना कसरी अगाडि बढाउने भन्ने विषयमा एक साताभित्र विस्तृत कार्ययोजनासहित निर्णय गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।

दूरसञ्चार पूर्वाधार विस्तारका क्रममा विभिन्न सरकारी निकायबीच समन्वय अभावका कारण काममा ढिलाइ हुन नहुने भन्दै उनले सडक विभाग, नेपाल विद्युत् प्राधिकरणलगायत सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी तत्काल परिणाम देखिनेगरी काम गर्न निर्देशन दिए।

छलफलमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले आरटिडिएफको रकम प्रयोग गरी सेवा विस्तारका लागि प्राधिकरणले लामो समयदेखि काम गर्दै आए पनि कतिपय आयोजना अझै सम्पन्न हुन नसकेको जानकारी गराए । रासस

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update