काठमाडौं । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठको गिरफ्तारीप्रति अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरबाट तीव्र विरोध र चिन्ता व्यक्त गरिएको छ। विश्वका प्रेस काउन्सिलहरूको संस्था वर्ल्ड एसोसिएसन अफ प्रेस काउन्सिल्स (डब्लुएपीसी) र नेपाल बार एशोसिएसनले श्रेष्ठको तत्काल तथा निःशर्त रिहाइको माग गरेका छन् ।
डब्लुएपीसीका अध्यक्ष डेभिड ओम्वोयोले केन्याको राजधानी नैरोबीबाट जारी गरेको विज्ञप्तिमा श्रेष्ठको गिरफ्तारी र हिरासतप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पत्रकारलाई प्रकाशित सामग्रीका आधारमा पक्राउ गर्नु प्रेस स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रतामाथिको प्रश्न भएको बताएका छन् । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष एवं प्रकाशक श्रेष्ठ डब्लुएपीसीका दोस्रो उपाध्यक्षसमेत हुन् ।
विज्ञप्ति भनिएको छ-कथित वैयक्तिक गोपनीयतासम्बन्धी हक उल्लंघनको आरोपमा श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवासबाट पक्राउ गरिएको थियो । पक्राउपछि उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ भने केही घण्टापछि प्रहरीले उनको कार्यालयमा समेत छापा मारेको डब्लुएपीसीले जनाएको छ ।
डब्लुएपीसीले गोपनीयता, समाचारको शुद्धता, नैतिकता वा पत्रकारितासम्बन्धी अन्य विषयमा कुनै गुनासो भए त्यसलाई स्थापित कानुनी, न्यायिक तथा प्रेस नियमनसम्बन्धी संयन्त्रमार्फत समाधान गर्नुपर्नेमा जोड दिएको छ। संस्थाले लोकतान्त्रिक समाजमा पत्रकारलाई पक्राउ गरी हिरासतमा राख्ने अभ्यास उचित समाधान नभएको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र जवाफदेहितालाई सँगसँगै अघि बढाउनुपर्ने धारणा राखेको छ।
अध्यक्ष ओम्वोयोले पत्रकारितामा जिम्मेवारी र व्यावसायिक मापदण्डको सम्मान आवश्यक भए पनि त्यसको नियमनका लागि हिरासतलाई विकल्प बनाउन नहुने बताए । उनले पत्रकारलाई समाचारका कारण पक्राउ गर्नु स्वतन्त्र सञ्चारप्रति प्रतिबद्ध लोकतन्त्रका लागि चिन्ताजनक विषय भएको उल्लेख गरेका छन् ।
डब्लुएपीसीले नेपाल सरकार, नेपाल प्रहरी तथा सम्बन्धित निकायलाई श्रेष्ठलाई तत्काल रिहा गर्न, अनुसन्धानलाई पारदर्शी र निष्पक्ष ढंगले अघि बढाउन तथा प्रेस स्वतन्त्रताको संवैधानिक अधिकारको संरक्षण गर्न आग्रह गरेको छ। साथै प्रकाशित सामग्रीसँग सम्बन्धित विवादलाई प्रेस काउन्सिल, सञ्चार नियामक निकाय तथा न्यायिक प्रक्रियामार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।
यता, नेपाल बार एशोसिएसनले पनि श्रेष्ठको गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाएको छ। बारको मानव अधिकार तथा जनसरोकार समितिले जारी गरेको विज्ञप्तिमा समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु प्रचलित कानुन र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको उल्लेख गर्दै तत्काल रिहाइको माग गरिएको छ ।
समितिका सह–संयोजक अधिवक्ता डा. राजेन्द्र घिमिरे र सदस्य सचिव अधिवक्ता किरण न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा हिरासतमा रहेका श्रेष्ठलाई परिवार तथा कानुन व्यवसायीहरूसमेत भेट्न नदिएको समाचारप्रति चिन्ता व्यक्त गरिएको छ। बारले संविधानप्रदत्त अधिकार सुनिश्चित गर्न सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ ।
बार एशोसिएसनले सञ्चारकर्मीलाई पक्राउ गर्ने, सञ्चार गृह बन्द गराउने तथा परिवारका सदस्यहरूलाई मानसिक दबाब दिने कार्य आधुनिक लोकतान्त्रिक समाजमा अस्वीकार्य भएको जनाएको छ । साथै यस्ता घटनाले सञ्चार क्षेत्रमा त्रास र दबाबको वातावरण सिर्जना गर्ने चेतावनी दिँदै नागरिकको सुसूचित हुने अधिकारमाथि अंकुश लगाउने गतिविधि नगर्न सरकारलाई आग्रह गरेको छ ।
श्रेष्ठको गिरफ्तारीविरुद्ध प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघसहित विभिन्न सञ्चारसम्बद्ध संस्थाहरूले विज्ञप्ती निकाल्दै विरोध गरेका छन् । सञ्चार क्षेत्रका प्रतिनिधिहरूले प्रेस स्वतन्त्रता, सम्पादकीय स्वतन्त्रता तथा जिम्मेवार पत्रकारिताको संरक्षणका लागि एकजुट भएर आवाज उठाइरहेका छन् ।







