कैलाली । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै ग्यासको बिक्री तथा आपूर्ति दुवै बढेको छ।
धनगढीस्थित नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालयले चालु आर्थिक वर्षको साउन २४ गतेसम्म मात्रै प्रदेशमा एक लाख १५ हजार ९९० सिलिन्डर ग्यास बिक्री भइसकेको जनाएको छ।
कार्यालय प्रमुख मनोहर डिसीले विगत दुई वर्षको तथ्याङ्कमा यस वर्षको पहिलो महिनाको २४ दिनमै बढी ग्यास आपूर्ति र बिक्री भए पनि बजारमा दबाब रहेको बताए।
आव २०८१/८२ को साउन महिनाभर एक लाख १२ हजार ७७० सिलिन्डर ग्यास बिक्री भएकोमा आव २०८०/८१ मा ९९ हजार ८४० सिलिन्डर बिक्री भएका थिए।
गत वर्षको तुलनामा यस वर्षको साउन २४ सम्म तीन हजार २२० सिलिन्डर बढी बिक्री भइसकेको छ।
साउनको बाँकी अवधिमा थप ५० हजार सिलिन्डर आउने क्रममा रहेको कार्यालय प्रमुख डिसीले जानकारी दिए।
गत आव २०८२/८३ मा सुदूरपश्चिममा कुल ११ लाख ५० हजार ८३४ सिलिन्डर अर्थात् १६ हजार ४४० मेट्रिक टन ग्यास बिक्री भएको थियो।
त्यसअघिको आर्थिक वर्ष २०८१/८२ मा भने ११ लाख ८० हजार ८३० सिलिन्डर अर्थात् १६ हजार ८६९ मेट्रिक टन ग्यास बिक्री भएको थियो।
चालु साउन २४ गतेसम्म बिक्री भएको ग्यासको परिमाण एक हजार ६५७ मेट्रिक टन रहेको छ। गत आर्थिक वर्षको साउनमा एक हजार ४१६ मेट्रिक टन ग्यास बिक्री भएको थियो।
यस हिसाबले गत वर्षको पूरै साउनको तुलनामा चालु साउनको २४ दिनमै २४१ मेट्रिक टन बढी ग्यास बिक्री भएको देखिन्छ।
पछिल्ला दुई आवमा ग्यासको बिक्रीमा उतारचढाव देखिन्छ। आव २०८१/८२ साउनमा एक लाख १२ हजार ७७० सिलिन्डर बिक्री भएकामा भदौमा घटेर ८८ हजार ३१० पुगेको थियो।
असोजमा ९२ हजार ५४०, कात्तिकमा ९६ हजार ११०, मङ्सिरमा एक लाख एक हजार २९० र पुसमा ८३ हजार ५८० सिलिन्डर बिक्री भएको थियो।
यसैगरी, गत माघमा एक लाख दुई हजार ४१०, फागुनमा ९५ हजार ८३०, चैतमा ८० हजार ७८०, वैशाखमा एक लाख दुई हजार ६०, जेठमा एक लाख नौ हजार ८३० र असारमा एक लाख १५ हजार ५०० सिलिन्डर बिक्री भएको निगमको तथ्याङ्क छ।
आव २०८२/८३ को भदौमा एक लाख आठ हजार ९९०, असोजमा एक लाख आठ हजार २२०, कात्तिकमा एक लाख १७०, मङ्सिरमा ९९ हजार ४००, पुसमा एक लाख चार हजार ५८०, माघमा एक लाख ९४० र फागुनमा एक लाख दुई हजार ६९० सिलिन्डर, चैतमा ७७ हजार २१०, वैशाखमा ६६ हजार ७१०, जेठमा ७९ हजार १७० र असारमा एक लाख दुई हजार ९१५ सिलिन्डर बिक्री भएको देखिन्छ।
महिनागत तुलना गर्दा आर्थिक वर्ष २०८२/८३ मा भदौमा अघिल्लो वर्षको सोही महिनाभन्दा २० हजार ६८० सिलिन्डर बढी बिक्री भएको थियो। असोजमा १५ हजार ६८०, कात्तिकमा चार हजार ६० र पुसमा २१ हजार सिलिन्डर बढी बिक्री भएको देखिन्छ।
फागुनमा पनि अघिल्लो वर्षभन्दा छ हजार ८६० सिलिन्डर बढी बिक्री भएको थियो। वैशाखमा भने ग्यासको बिक्री अघिल्लो वर्षको तुलनामा ३५ हजार ३५० सिलिन्डरले घटेको थियो।
जेठमा ३० हजार ६६० र असारमा १२ हजार ५८५ सिलिन्डर कम बिक्री भएको निगमको तथ्याङ्क छ। यसले प्रदेशमा ग्यासको माग तथा बिक्री महिनाअनुसार उल्लेख्य रूपमा घटबढ हुने गरेको देखाउँछ।
निगमका अनुसार आर्थिक वर्ष २०८१/८२ मा प्रदेशमा कुल ११ लाख ८० हजार ८३० सिलिन्डर अर्थात् १६ हजार ८६९ मेट्रिक टन ग्यास बिक्री भएको थियो। आर्थिक वर्ष २०८२/८३ मा भने ११ लाख ५० हजार ८३४ सिलिन्डर अर्थात् १६ हजार ४४० मेट्रिक टन ग्यास बिक्री भएको छ। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा करिब दुई दशमलव पाँच प्रतिशत कम सिलिन्डर बिक्री भएको देखिन्छ।
यस वर्षको साउनमा भने माग पुनः तीव्र रूपमा बढेको छ। निगमको विवरणअनुसार साउन २४ गतेसम्म बिक्री भएका एक लाख १५ हजार ९९० सिलिन्डरमध्ये रेडियन्ट (रोयल) ग्यासका ७२ हजार ९४० र सैपाल ग्यासका ४३ हजार ५० सिलिन्डर छन्।
जिल्ला प्रशासन कार्यालय, कैलालीको नेतृत्वमा सोमबार धनगढीमा गरिएको बजार अनुगमनका क्रममा पनि ग्यास डिलरमा नियमित आपूर्ति भइरहे पनि उपभोक्ताबाट माग अत्यधिक बढेको पाइएको थियो।
केही डिलरमा पर्याप्त मौज्दात रहे पनि कतिपय डिलरमा माग अस्वाभाविक रूपमा बढेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए।
बजारमा पर्याप्त ग्यास आपूर्ति भइरहे पनि हल्लाको पछि लागेर अतिरिक्त सिलिन्डर भण्डारण गर्दा बजारमा दबाब देखिएको उनको भनाइ छ। “हल्लाको पछाडि लागेर अतिरिक्त सिलिन्डर थुपार्न आवश्यक छैन। बजारमा पर्याप्त ग्यास आपूर्ति भइरहेको छ”, खत्रीले भने । रासस







