Khabar Out
शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’ मा सञ्चालन गर्ने तयारी

चितवन । देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन गरिने भएको छ ।

शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन हुन लागेको हो । सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गरेको उक्त शवदाहगृह भरतपुर महानगरपालिकालाई आज हस्तान्तरण गरिएको छ ।

सार्वजनिक निजी साझेदारी ढाँचामा शवदाह सञ्चालन गर्नका लागि महानगरपालिकाले कार्यविधि तयार गरिसकेको छ । निर्माण थालिएको सात वर्षपछि विद्युतीय शवदाह गृहको काम सकिएको हो । गृहमा दुईवटा शवदाह गर्ने मेसिन जडान गरिएको छ । सहरी विकास कार्यालयको रु ११ करोड २१ लाख आठ हजार ६४१ मा शवदाह गृह निर्माण गरेको हो ।

देवघाटमा चितवन, नवलपरासी, तनहुँसहित देशका विभिन्न जिल्लाबाट शवदाहका लागि ल्याउने गरिन्छ । दाउराको अभावका कारण व्यवस्थापनमा चुनौती हुँदै आएको छ । शवदाह निर्माणपछि बेवारिसे शवको अन्त्यष्टिका लागि सहयोग पुग्ने विश्वास गरिएको छ । रासस

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update