Khabar Out
जेनजी प्रदर्शनमा फरार भएका ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

चितवन । गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दीमध्ये ९७ जना अझै फर्किएका छैनन् । ९ भारतीयसहित ९७ जना कैदीबन्दी अझै कारागारको सम्पर्कमा आएका छैनन् ।

यस कारागारबाट गत भदौँ २५ गते ७३९ जना कैदीबन्दी भागेका थिए । तीमध्ये ६४१ जना फर्किएका छन् । एक जनाको भने परिवारको सम्पर्कमा पुगेपछि मृत्यु भएको कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गानाले जानकारी दिए । उनका अनुसार तत्कालीन समयमा चार नाबालकसहित ७४३ जना कैदी भागेकामा नाबालकलाई कैदीबन्दीको सूचीमा नराखिने भएकाले ७३९ को विवरण मात्र उल्लेख गरिएको हो।

यसरी सम्पर्कविहीन भएकाहरूमध्ये लागुऔषध र जबरजस्ती करणीका कैदी बढी रहेका कार्यालयका निमित्त प्रमुख ढुङ्गानाले जानकारी दिए। उनका अनुसार फरार भएकामध्ये दुर्लभ एकसिङ्गे गैँडा चोरीशिकारीमा संलग्न छन् । कारागार कार्यालयले गत असोज २० गतेसम्म कारागार कार्यालयको सम्पर्कमा आउनका लागि आग्रह गरेको थियो।

कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन, २०७९ र प्रचलित कानुन अनुसार कारबाही गरिने जनाएको थियो। फरार रहेका कैदीबन्दीलाई लुकाउने,आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यत्तिलाई समेत कसुरदार ठानी कारबाही गरिने उहाँले बताउनुभयो । भागेकाहरू नवलपरासी (वर्दघाट-सुस्ता)पूर्वसहित अन्य जिल्लाका छन्।

प्रकाशित मिति: सोमबार, साउन ११, २०८३  २१:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update