Khabar Out
फिर्केखोला संरक्षणमा चासो

गण्डकी । पोखरा महानगरपालिकाका–१८ अधँरीकुना हुँदै फेवाताल मिसिने फिर्केखोला संरक्षण तथा सौन्दर्यीकरण गर्न वातावरण संरक्षणका लागि महाअभियानले माग गरेको छ ।

पोखरामा आइतबार पत्रकार सम्मेलन गरी महाअभियानले फिर्केखोला खोलाघरमा निर्मित सबै संरचना हटाइ पैदल मार्ग र साइकल लेनसहितको फिर्केखोला करिडोर निर्माण गर्नुपर्नेमा जोड दिएको हो । महानगरपालिकाले फिर्केखोला खोलाघरका अतिक्रमित संरचना हटाउने कार्य स्थगन गरेकामा महाअभियानले ध्यानाकर्षण भएको जनाएको छ ।

महाअभियानका संयोजक रामबहादुर पौडेलले फिर्केखोलामा अतिक्रमण हटाउन महानगरपालिकाले लिएको पहल सकारात्मक भए पनि कतिपय संरचना अझै नहट्नुमा महानगरपालिका र सम्बन्धित वडाको कमजोरी रहेको बताए । बढ्दो अतिक्रमण, प्रदूषण, फोहरमैला व्यवस्थापनमा भएको कमजोरी, योजनाविहीन सहरीकरण तथा नियमनमा भएको लापरबाहीले फिर्केखोलाको प्राकृतिक स्वरूप र अस्तित्वमाथि नै चुनौती थपिएको महाअभियानको ठहर छ । जैविक विविधता र पर्यावरणीय सन्तुलनका लागि फिर्केखोलालाई प्राकृतिक रूपमै बहन दिनुपर्नेमा जोड दिइएको छ ।

पोखरा–१८ अँधेरीकुनाबाट वडा नं. २, ४, ५, ८, ७, १७ र ६ हुँदै फिर्केखोला फेवातालमा मिसिन्छ । महाअभियानले वडा नं. ४, ५, ८ र ७ स्थित फिर्केखोला खोलाघरमा विभिन्न संरचना हटाउन बाँकी रहेकाले तिनलाई पूर्ण रूपमा हटाउन महानगरपालिकासँग माग गरेको छ । रासस

प्रकाशित मिति: सोमबार, साउन ११, २०८३  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update