Khabar Out
कर्णालीमा सवारी कारबाहीबाट रु तीन करोड ४१ लाख राजस्व सङ्कलन

कर्णाली । नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले सवारी कारबाहीबाट रु तीन करोड ४१ लाख राजस्व सङ्कलन गरेको छ ।

उक्त कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार आर्थिक वर्ष ०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने ३८ हजार ८८५ सवारीसाधनलाई कारबाही गरिएको छ ।

उहाँका अनुसार आव ०८१/८२ मा ४९ हजार ९६४ सवारी कारबाही गरी रु तीन करोड ६७ लाख ४३ हजार राजस्व असुली गरिएको थियो । उनले भने, “कारबाही सङ्ख्या र राजस्व सङ्कलन घट्नु भनेको ट्राफिक नियम पालना हुनु हो । हामी राजस्व सङ्कलन गर्ने होइन, सकेसम्म नियमको पालना र सवारी दुर्घटनामा कमी ल्याउन लागिपरेका छौँ ।” आव ०८१/८२ को तुलनामा आव ०८२/८३ मा सवारी कारबाही २३ प्रतिशत र राजस्व सङ्कलन २० प्रतिशतले कमी आएको छ ।

प्रहरी उपरीक्षक रिजालका अनुसार कर्णालीमा दैनिक सरदर १०१ सवारीसाधन दर्ता हुन्छन् । यस्तै, तीन दशमलव २७ प्रतिशत सवारी दुर्घटना हुन्छ । प्रदेशका सबै जिल्लाको सवारी दुर्घटनाबारे अध्ययन गर्दा सुर्खेतमा सबैभन्दा बढी ६९० र मुगुमा सबैभन्दा कम १७ सवारी दुर्घटना भएको प्रहरीको विवरण छ ।

प्रदेशभर एक हजार ३८४ किलोमिटर पक्की, एक हजार १९४ किलोमिटर ग्राभेल, सात हजार १०८ किलोमिटर कच्ची गरी कर्णाली जम्मा नौ हजार ६८७ किलोमिटर सडकमा सवारी सञ्चालन हुन्छ ।

कुल १६ लाख ९४ हजार ८८९ जनसङ्ख्याका लागि ट्राफिक प्रहरी अनुपात ७८ दशमलव ८३ जना छ । एक जना प्रहरीले ४५ किलोमिटर सडक हेर्नुपर्दछ । हाल प्रदेशभर २१५ ट्राफिक प्रहरी रहेको उनले जानकारी दिए ।

कर्णालीमा २६ देखि ४० वर्ष उमेर समूहका विशेष गरी दुई पाङ्ग्रे ६२ प्रतिशत सवारीसाधन तीव्र गतिका कारण अपराह्न १२ः०० देखि साँझ ६ः०० बजेसम्म सबैभन्दा बढी दुर्घटना हुने गरेको प्रहरी उपरीक्षक रिजालले बताउनुभयो । उहाँका अनुसार गत आव ०८२/८३ मा ट्राफिक नियम पालनासम्बन्धी आठ हजार २७८ पटक सचेतनामूलक कार्यक्रम गर्दा कर्णाली प्रदेशभर पाँच लाख ६९ हजार २०६ नागरिक लाभान्वित भएका थिए । रासस

प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update