Khabar Out
बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने

काठमाडौँ । सरकारले कर्णालीमा विद्युत् अवरुद्ध हुने समस्या समाधानका लागि ‘यान्त्रिक क्रेन’ पठाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको पहलमा कर्णालीमा विद्युत् आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न ‘यान्त्रिक क्रेन’ पठाउने निर्णय गरेको हो ।

कर्णाली प्रदेशमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत् अवरोध हुने समस्या र मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेन पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठ दुई साताअघि तीन प्रदेशका पाँच जिल्लाको स्थलगत अनुगमनमा जाँदा सुर्खेतलगायत कर्णाली प्रदेशमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत् अवरोध हुने समस्या र मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेनको अभावबारे जानकारी प्राप्त भएको थियो ।

उक्त विषयमा नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश प्रमुखले मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका थिए । काठमाडौँ फर्केलगत्तै मन्त्री श्रेष्ठले विद्युत् अवरोध समाधानका लागि आवश्यक परेको ‘यान्त्रिक क्रेन’ पठाउन नियामक निकायसँग समन्वय गरेका गरेका थिए ।

“कर्णाली प्रदेशभित्रको विद्युत् समस्यालाई सम्बोधन गर्न गरिएको समन्वयले अब सार्थकता पाउँदैछ, आवश्यक प्रक्रिया र सर्भिसिङ पूरा भएपछि नेपाल विद्युत् प्राधिकरणको खरिपाटीस्थित ट्रान्सफर्मर वर्कशपमा रहेको यान्त्रिक क्रेन कर्णाली प्रदेशलाई उपलब्ध गराउने निर्णय भएको छ”, मन्त्री श्रेष्ठले भने ।

उक्त निर्णयसँगै सेवा अवरुद्ध हुँदा अन्य प्रदेशबाट उपकरण ल्याउनुपर्ने बाध्यता कम भई विद्युत् मर्मत तथा सेवा प्रवाह थप छिटो, सहज र प्रभावकारी हुने मन्त्री श्रेष्ठको भनाइ छ । सार्वजनिक सेवाका व्यवहारिक समस्या समाधान गर्ने प्रयास निरन्तर जारी रहेको मन्त्री श्रेष्ठले बताए । रासस

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update