Khabar Out
स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्यान्डसँग भिड्ने

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान सम्पन्न अन्तिम क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो ।

अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेल र लाउटारो मार्टिनेजले एक–एक गोल गरे । खेलको १०औं मिनेटमा कप्तान लियोनल मेसीको कर्नरलाई एलिस्टरले हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

स्विट्जरल्यान्डले ६७औं मिनेटमा डान एनडोयेको गोलमार्फत खेल बराबरीमा ल्याएको थियो । तर, ७२औं मिनेटमा ब्रेल एम्बोलो दोस्रो पहेँलो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो ।

निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा जुलियन अल्भारेलले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने इन्जुरी समयमा लाउटारो मार्टिनेजले अर्को गोल थप्दै ३–१ को जित सुनिश्चित गरे ।

यससँगै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा सातौं पटक पुगेको छ । अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: आइतबार, असार २८, २०८३  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update