काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले पराजित गर्दै शतप्रतिशत जितसहित समूह विजेता बनेको छ । गिभान लो सेल्सो, लाउटारो मार्टिनेज र दोस्रो हाफमा मैदान प्रवेश गरेका लियोनेल मेस्सीले अर्जेन्टिनाका लागि गोल गरे भने जोर्डनका मौसा अल तामारीले सान्त्वना गोल फर्काए ।
खेलको ८० औं मिनेटमा मेस्सीले फ्री किकमार्फत गोल प्रहार गरेका हुन् । डी बक्स भन्दा बाहिर जोर्डनका अमिर जामोसले मेस्सीलाई ढलाउँदा रेफ्रीले फउल दिएका थिए । त्यसैमा मेस्सीले प्रहार गरेको लामो फ्री किकले जाली चुमेको हो ।
यो जारी विश्वकपमा मेस्सीको छैटौं गोल हो । यसअघि उनले अल्जेरियासँग ह्याट्रिक र अस्ट्रियासँगको खेलमा दुई गोल प्रहार गरेका थिए । यो गोलसँगै मेस्सीको विश्वकपमा रेकर्ड १९ गोल पुगेको छ ।
अर्जेन्टिनाले ९ अंकसहित समूह जित्दा ४ अंक जोडेको अष्ट्रिया उपविजेता बनेको छ ।







