काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ४ को आयोजनामा सम्पन्न अन्तरविद्यालय स्तरीय चेस प्रतियोगितामा बासबारी स्कुल प्रथम भएको छ। ३ र ४ गते गरी दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
प्रतियोगिताको विद्यालयतर्फको प्रतिस्पर्धामा बासबारी स्कुल प्रथम, दुर्गा भवानी एकेडेमी द्वितीय तथा महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालय तृतीय हुन सफल भए ।
त्यसैगरी व्यक्तिगततर्फ साउथ वेस्टर्न कलेजका अभिनभ पाण्डे प्रथम भएका छन् भने किष्ट कलेजका अग्रज कटवाल तृतीय स्थान हासिल गर्न सफल भए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमलाई समापन गर्दै वडा नं. ४ का अध्यक्ष दिनेश महर्जनले आगामी दिनमा यस्ता प्रतियोगिताहरू अझ व्यापक रूपमा आयोजना गरिने बताएका छन् । उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न तथा बौद्धिक क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरूको प्रयास, खेल भावना र अनुशासनको व्यापक प्रशंसा गरिएको थियो ।







