Khabar Out
नागरिक अधिकार र प्रेस स्वतन्त्रता संरक्षणका लागि र्‍यालीमा सहभागी हुन पापडको आह्वान

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमाथि अंकुश लगाउने सरकारी प्रयासको विरोध गर्दै नेपाल पत्रकार महासंघले आयोजना गर्न लागेको र्‍यालीप्रति ऐक्यबद्धता जनाएको छ।

बुधबार जारी संयुक्त विज्ञप्तिमा पापडले पछिल्लो समय मुलुकमा विकसित राजनीतिक, संवैधानिक तथा प्रशासनिक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संविधानको कार्यान्वयन, लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण, विधिको शासन तथा नागरिक अधिकारको संरक्षण राज्य सञ्चालनका आधारभूत मान्यता भए पनि वर्तमान शासन शैलीले ती मूल्य–मान्यतालाई कमजोर बनाउने प्रयास गरेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

पापडले लोकतन्त्र केवल निर्वाचनमार्फत प्राप्त बहुमतको शासन मात्र नभई संविधानको सर्वोच्चता, शक्तिको सन्तुलित प्रयोग, संस्थागत उत्तरदायित्व, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, पारदर्शिता, नागरिक स्वतन्त्रता तथा विधिको शासनमा आधारित प्रणाली भएको स्मरण गराएको छ ।

विज्ञप्तिमा सुकुम्बासी बस्ती हटाउने कार्य, न्यायपालिकाको स्वतन्त्रतामाथि प्रभाव पार्ने प्रयास, संसद्को भूमिकालाई कमजोर बनाउने अभ्यास, सञ्चारमाध्यममाथि आर्थिक दबाब सिर्जना गर्ने कदम, पेशागत तथा ट्रेड युनियन अधिकारमाथि नियन्त्रणमुखी व्यवहार, विश्वविद्यालयहरूको स्वायत्ततामा हस्तक्षेप तथा शिक्षा–स्वास्थ्य क्षेत्रमा देखिएको नीतिगत अस्पष्टताप्रति असन्तुष्टि व्यक्त गरिएको छ ।

पापडले सरकारलाई नागरिक सर्वोच्चता, मानवअधिकार, संविधानको अक्षर र भावना तथा अन्तर्राष्ट्रिय कानुनी दायित्वको सम्मान गर्दै लोकतान्त्रिक मूल्य–मान्यता, प्रेस स्वतन्त्रता, सूचनाको हक, न्यायपालिकाको स्वतन्त्रता र नागरिक अधिकारको रक्षा गर्न आग्रह गरेको छ ।

साथै लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि सबै लोकतन्त्रवादी शक्ति, पेशागत संगठन, सञ्चार क्षेत्र, शैक्षिक समुदाय तथा नागरिक समाजलाई एकजुट हुन आह्वान गरिएको छ ।

नेपाल पत्रकार महासंघले असार ५ गते दिउँसो ४ बजे काठमाडौंको माइतीघर मण्डलामा आयोजना गर्ने विरोध र्‍यालीप्रति ऐक्यबद्धता जनाउँदै पापडले सबै सरोकारवालालाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।

उक्त विज्ञप्तिमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्रि रिजाल, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र, नेपाल प्राध्यापक संघका अध्यक्ष प्रा.डा. रमेशकुमार जोशी, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी तथा नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष इ. सुवासचन्द्र बरालको हस्ताक्षर रहेको छ ।

प्रकाशित मिति: बुधबार, असार ३, २०८३  २२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update