Khabar Out
धौलागिरि प्रादेशिक अस्पतालमा डायलिसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ । धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै गएपछि डायलिसिस सेवा विस्तार गरिएको छ । बिरामीको सङ्ख्या बढ्दै गएपछि अस्पतालमा सेवा विस्तार गरिएसँगै डायलिसिस गर्न पालो कुर्नु नपर्ने भएको हो । अहिले मिर्गौला रोगीका लागि अस्पतालमा छुट्टै कक्ष स्थापना गरेर सेवा दिन थालिएको हो ।

नियमित डायलिसिस गर्नुपर्ने बिरामीलाई सहज रूपमा सेवा दिने उद्देश्यले अस्पतालमा गण्डकी प्रदेश सरकारको रु २० लाख लागतमा छुट्टै कक्ष स्थापना गरिएको अस्पतालका प्रमुख डा किरण तिवारीले बताए । उनका अनुसार अस्पतालले दैनिक ६४ जनालाई डायलिसिस सेवा दिइरहेको छ ।

छुट्टै कक्ष स्थापना गरेपछि थप २० जनाको डायलिसिस गर्न सक्ने क्षमता विस्तार भएको डा तिवारीले उल्लेख गरे । अस्पतालमा आवश्यकताअनुसार शय्या थप्ने काम भएको भन्दै उनले आवश्यक उपकरण प्रदेश सरकारले उपलब्ध गराउने भएपछि सेवा विस्तार गरिएको बताए ।

“पछिल्लो समय मृगौला पीडित बिरामी बढ्दै गएका छन् । उहाँहरूलाई लामो समय लाइनमा बस्नुपर्दा असहज हुने देखिएपछि अस्पतालले सेवालाई थप प्रभावकारी र सहज बनाउन कक्ष स्थापना गरेको हो”, प्रमुख तिवारीले भने, “सीमित बिरामीको डायलिसिस गर्नुपर्ने हुँदा ३० जना लाइनमा बस्नुपर्ने बाध्यता थियो । अब भने यो समस्या अन्त्य भएको छ ।”

यसैबिच अस्पतालले हालै सर्पदंशको उपचार सेवा सुरु गरेको छ । योसँगै अस्पतालमा ‘सिटी स्क्यान’ उपकरण जडान भएपछि ट्रमाका बिरामीले पनि सहज रूपमा सेवा पाउन थालेका अस्पताल प्रशासनले जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, असार २, २०८३  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update