Khabar Out
विश्वकप फुटबल :  अमेरिकाद्धारा पाराग्वे ४–१ ले पराजित

काठमाडौं । घरेलु मैदानमा ३२ वर्षपछि विश्वकप खेलिरहेको अमेरिकाले प्रतियोगिताको पहिलो खेलमै प्रभावशाली जित निकाल्दै सुखद सुरुआत गरेको छ । अमेरिकाले पाराग्वेलाई ४–१ ले पराजित गर्दै तीन अंक बटुलेको हो ।

खेलको सातौँ मिनेटमै अमेरिकाले अग्रता लिएको थियो । वेस्टन म्याकेनीको पास रोक्ने क्रममा पाराग्वेका डिफेन्डर डेनियस बोबाडिलाबाट आत्मघाती गोल भएपछि घरेलु टोलीले सुरुआती सफलता पाएको हो ।

अमेरिकाले पहिलो हाफमै खेल आफ्नो पक्षमा मोड्यो । ३१औँ मिनेटमा फ्लोरियन बलोगुनले गोल गर्दै अग्रता दोब्बर बनाए भने पहिलो हाफको अतिरिक्त समयमा पुनः गोल गर्दै व्यक्तिगत दोस्रो गोल पूरा गरे । बलोगुन विश्वकपमा अमेरिकाका लागि एकै खेलमा दुई गोल गर्ने ९६ वर्षयताकै दोस्रो खेलाडी बने । यसअघि सन् १९३० मा बर्ट प्याटनुडले यस्तो उपलब्धि हासिल गरेका थिए ।

दोस्रो हाफमा पाराग्वेले खेलमा फर्कने प्रयास गर्‍यो । ७३औँ मिनेटमा मौरिसियोले गोल गर्दै अन्तर घटाए पनि त्यो पर्याप्त बन्न सकेन ।

खेलको अन्तिम समयमा जियोभानी रेयनाले अर्को गोल थपेपछि अमेरिकाले ४–१ को शानदार जित सुनिश्चित गर्‍यो ।

घरेलु समर्थकको उत्साहबीच प्राप्त यो जितले अमेरिकालाई विश्वकप अभियानमा आत्मविश्वास थपेको छ भने पाराग्वे भने पहिलो खेलमै दबाबमा परेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ ३०, २०८३  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update