Khabar Out
भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबिच लामो दूरीमा रही मुटुलगायतका जटिल शल्यक्रिया सफल रुपमा गर्ने अत्याधुनिक रोबोटिक सर्जरी सञ्चालनमा ल्याउने भएको छ ।

भारत लगायतका देशमा रोबोटिक सर्जरी अर्थात् रोबोटमार्फत गरिने जटिल शल्यक्रिया सफलपछि नेपालको सरकारी अस्पतालमा पहिलो पटक रोबोटिक सर्जरी सुरु गर्न लागिएको हो ।

विश्वको जुनसुकै देशको एउटा कोठामा बसेर चिकित्सकले अर्को देशको अस्पतालका बिरामीको शल्यक्रियामार्फत उपचार गर्ने प्रविधि रोबोटिक सर्जरी हो । निजी क्षेत्रका अस्पतालले त्यस खाले उपचार सेवा यसअघि नै सुरु गरिए तापनि भक्तपुर अस्पतालले सञ्चालन गर्न लागेको रोबोटिक सर्जरी अत्याधुनिक रहेको जनाइएको छ ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले सरकारी अस्पतालमा पहिलो पटक भक्तपुर अस्पतालमा रोबोटिक सर्जरी सेवा सुरु गर्ने प्रक्रिया प्रदेश सरकारले सुरु गरेको बताए । उनले भने, “अत्याधुनिक उपकरण र प्रविधिको प्रयोग गरी नेपालमा पहिलो पटक सरकारी अस्पतालमा रोबोटिक सर्जरी सञ्चालन गर्ने जमर्को बागमती प्रदेश सरकारले गरेको छ, त्यसका लागि बोलपत्र आह्वान भइसकेको छ । यसबाट बिरामीलाई सहज र सुलभ रुपमा उपचार सेवा दिन सक्छौँ ।”

बागमती प्रदेश सरकारको मुख्यमन्त्री इन्द्र बानियाँ र स्वास्थ्यमन्त्री किरण थापाले सरकारी अस्पतालमा गुणस्तरीय प्रविधि भित्र्याएर सर्वसुलभ रुपमा उपचार गर्ने लक्ष्यका साथ बागमती प्रदेश सरकारले रोबोटिक सर्जरी ल्याउने निर्णय गरेको हो ।

स्वास्थ्यमन्त्री थापाले विशेषज्ञ चिकित्सकले भित्तामा जडित ठूलो स्क्रिन हेर्दै रोबोट प्रविधिमार्फत शल्यक्रिया गर्ने भएकाले नेपालको स्वास्थ्य क्षेत्रका लागि नयाँ युगको सुरुआत भएको बताए । शल्यक्रियामा रोबोटिक प्रविधिको प्रयोगले चिकित्सक र बिरामी दुवैका लागि फाइदा र सहज हुने भक्तपुर अस्पतालका रोबोटिक विशेषज्ञ एवं कन्सल्टेन्ट सर्जन डा रन्जिसकुमार पहाडी क्षेत्रीले जानकारी दिए ।

नेपालको चिकित्सा क्षेत्रमा झण्डै सवा शताब्दी लामो इतिहास बोकेको भक्तपुर अस्पतालले विश्वसनीय स्वास्थ्य सेवा पुर्याउँदै आएको छ । पछिल्ला वर्षहरुमा सरकारी अस्पतालमध्ये लगातार उत्कृष्ट स्थान हासिल गर्दै आएको अस्पतालले समयको माग र नयाँ प्रविधिसँगै आफ्नो सेवालाई अझ आधुनिक बनाउँदै लगेको छ ।

उनले भक्तपुर अस्पताललाई रोबोटिक सर्जरी सेवासँगै यसको तालिम केन्द्रका रुपमा विकास गरिने बताए । भक्तपुर अस्तालले त्यो सेवा सुरु गर्न आवश्यक जनशक्तिका समेत सञ्चालन गर्ने जनाएको छ । डा. पहारीले रोबोटिक शल्यक्रियाको सुरुआतले भक्तपुर अस्पताल अब परम्परागत उपचार पद्धतिबाट माथि उठेर नेपालकै एउटा उत्कृष्ट उपचार र सिकाइ केन्द्रको रुपमा रहन पुगेको दाबी गरे ।

सरकारी अस्पतालमा भित्रिएको यस प्रविधिबाट गरिब तथा विपन्न वर्गका बिरामीले समेत संसारकै उत्कृष्ट र आधुनिक प्रविधिबाट सुलभ उपचार पाउने अस्पतालका निमित्त निर्देशक डा त्रिभुवनचन्द्र झाले बताए ।

रोबोटिक शल्यक्रिया के हो ?

रोबोटिक शल्यक्रिया मेसिन वा रोबोट आफैँले शल्यक्रिया गर्ने नभई रोबोटलाई सर्जन चिकित्सकले नियन्त्रणमा राखेर गरिने शल्यक्रिया भएका डा. पहारी बताउँछन् । उनका अनुसार, चिकित्सकले उपकरण चलाउँदा रोबोटका हात बिरामीको पेटभित्र निकै मसिनो र सटिक तरिकाले चल्ने भएकाले त्यसका माध्यमबाट शल्यक्रिया गरिन्छ ।

भक्तपुर अस्पतालमा त्यस प्रविधिको प्रयोग गरी विशेषगरी पेटको मांसपेशी नै सिलाउन र मिलाउनुपर्ने जटिल खालका हर्निया, पेट र आन्द्राको ट्युमर, पत्थरी, पाठेघरको ट्युमर, मिर्गौला र प्रोस्टेटसम्बन्धी जटिल समस्या तथा कार्डियाक ब्यारियाट्रिक र बाल चिकित्सा शल्यक्रिया सञ्चालन गर्ने लक्ष्य छ ।

कम दुखाइ र न्यून खर्चमा हुने यो प्रविधिले पेटमा ठूलो प्वाल नभई स–साना प्वाल पारेर शल्यक्रिया गरिनेछ । घाउ सानो हुने भएकाले तुलनात्मकरुपमा बिरामीलाई दुखाइ कम हुने, शल्यक्रियापछि थोरै समयमै हिँडडुल गर्न र घर फर्कन सहज हुनेछ । प्रविधिको प्रयोबाट हुने उपचार बिरामीको खर्च र अस्पतालको बसाई निकै कम हुने विश्वास गरिएको छ ।

नयाँ प्रविधिलाई अझ व्यवस्थित र सुरक्षित बनाउन रोबोटिक रजिस्ट्री विवरणलाई व्यवस्थित तुल्याइने अस्पतालले जनाएको छ । प्रविधिलाई नेपाली बिरामीमा अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भनी अस्पतालका सर्जनले नियमित रूपमा अनुसन्धान गर्ने छन् । त्यससँगै अस्पताललाई तालिमसहित रोबोटिक शल्यक्रिया सिकाउने नेपालकै उत्कृष्ट सेन्टर अफ एक्सीलेन्स बनाउने तयारी गरिएको छ । रासस

 

प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update