काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छन् ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसपछि अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रियसभाको बैठक पनि दिउँसो सवा १ बजे बस्ने तय भएको छ । बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउनेछन् । साथै अर्थमन्त्री वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।
त्यसैगरी अर्थमन्त्रीले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यसमाथि छलफल प्रारम्भ हुने सम्भावना रहेको छ ।
यता प्रधानमन्त्रीले सोमबार संसद्मा नेपालले पनि भारतको सीमा मिचेको आशयको अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरू आक्रोशित बनेका छन् । उक्त अभिव्यक्ति सच्याउन र प्रधानमन्त्रीबाट स्पष्टिकरण आउनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद् बैठक बहिष्कार गर्दै आएका छन् ।
विपक्षीको अवरोध र बहिष्कारका बीच आजको बैठक सञ्चालन हुने भएकाले बजेटमाथिको छलफल र संसद्को वातावरण कस्तो बन्छ भन्नेमा राजनीतिक वृत्तको ध्यान केन्द्रित भएको छ ।







