Khabar Out
कांग्रेस संविधानको रक्षार्थ अघि बढ्छ: सभापति थापा

काभ्रेपलान्चोक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब आफ्नो पार्टी संविधानको रक्षार्थ अघि बढ्ने बताएका छन् ।

काभ्रेपलान्चोकको धुलिखेलमा सोमबार आयोजित प्रदेश तथा स्थानीय तह केन्द्रित बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले अहिले कांग्रेसको सबैभन्दा ठुलो जिम्मेवारी संविधानको रक्षा मात्रै गर्नु रहेको बताए ।

“वर्तमान समयमा कांग्रेसको मुख्य जिम्मेवारी संविधानको रक्षा गर्नु रहेको छ,” सभापति थापाले भने । सभापति थापाले मुलुकमा वर्तमान प्रमुख चुनौती आर्थिक सङ्कट रहेको उल्लेख गर्दै महँगीले नागरिकको ‘खल्ती र भान्सा’ दुवै प्रभावित भएको बताए ।

“नेपालका बैंकमा पर्याप्त रकम भए पनि लगानी हुन सकेको छैन, सानाठूला व्यवसायी ऋण तिर्न नसकेर भाग्ने अवस्थामा छन् र किसानसमेत समस्यामा परेको वर्तमान अवस्थामा सरकारले अब राजनीतिक विवादभन्दा पनि अर्थतन्त्र सुधारमा ध्यान केन्द्रित गर्नुपर्छ”, सभापति थापाले भने ।

सभापति थापाले फरक प्रसङ्गमा कांग्रेस पार्टीभित्रको गुटबन्दी र सार्वजनिक विवादप्रति असन्तुष्टि जनाउँदै यसले कांग्रेसको छवि क्रमशः कमजोर बनाउँदै गएको बताए । आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई मात्र लक्ष्य नबनाई राष्ट्र, लोकतन्त्र र नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्न उनले प्रदेशका नेताकार्यकर्तालाई निर्देशनसमेत दिए ।

कार्यक्रममा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पार्टी अहिले ‘गुट भत्काउने र पार्टी बनाउने’ नीतिमा अघि बढिरहेको बताए । “विशेष महाधिवेशनमा सहभागी नभएकालाई समेटेर जिम्मेवारी दिइँदै गइएको छ, यसलाई पार्टी एकताको सङ्केतका रूपमा लिनुपर्छ”, उनले भने ।

विशेष महाधिवेशनका सहभागीलाई मात्रै जिम्मेवारी दिइयो भने विभाजनलाई बल पुग्ने भएकाले विशेष अधिवेशनमा सहभागी नभएकालाई समेटेर क्रमशः जिम्मेवारी दिइँदै गएकाले थपलाई पनि समेटिने उनको भनाइ थियो । सो अवसरमा पार्टीका महामन्त्री प्रदीप पौडेल, बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँलगायतले कांग्रेस पार्टी गरिब निमुखाको पार्टी भएको बताए । रासस

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update