Khabar Out
बागबजारको टुकुचा पुल अलपत्र: वाचा चकनाचुर, सास्ती भोग्दै सर्वसाधारण

-चन्द्रकला थापा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र बागबजारस्थित टुकुचा खोलामाथिको पुल भत्काइएको अढाई महिना बितिसक्दा पनि निर्माण कार्य अलपत्र अवस्थामा  छ । दैनिक हजारौं सर्वसाधारण, विद्यार्थी, कर्मचारी तथा सवारी साधन आवतजावत गर्ने उक्त स्थानमा पुल निर्माणको काम सकिन कति अवधी लाग्छ भन्ने एकिन नहुदा स्थानीयवासी आक्रोशित बनेका छन् ।

पुल भत्काइएको सुरुमा छिटो निर्माण सम्पन्न गरिने दाबी गरिएको थियो । तर, व्यवहारमा भने निर्माण कार्य सुस्त गतिमा देखिन्छ। आवश्यक जनशक्ति, सामग्री र समन्वयको अभाव देखिएको स्थानीयको गुनासो छ । “भत्काउने बेला त हतार–हतार गरियो, बनाउने बेला किन यस्तो ढिलासुस्तीरु” एक स्थानीय व्यवसायीले प्रश्न गरे ।

बागबजार क्षेत्र शैक्षिक संस्था, व्यापारिक केन्द्र र आवासीय क्षेत्रको मुख्य नाका हो। पुल नहुँदा पैदल यात्रुहरू असुरक्षित बाटो प्रयोग गर्न बाध्य छन् भने सवारी साधनले लामो घुमाउरो बाटो लिनुपर्दा ट्राफिक जाम झनै बढेको छ । यसले दैनिक जीवन प्रभावित मात्र नभई आर्थिक गतिविधिमा समेत असर पारेको व्यवसायीहरूको भनाइ छ ।

निर्माण ढिलाइको कारणबारे सम्बन्धित निकाय स्पष्ट रूपमा बोल्न तयार देखिँदैन । कतिपय स्रोतहरूले प्राविधिक डिजाइन परिवर्तन, बजेट व्यवस्थापन र ठेकेदार पक्षको ढिलासुस्तीलाई कारण मानिरहेका छन् । तर, आधिकारिक जवाफ नआउँदा शंका झनै गहिरिएको छ।

काठमाडौं महानगरपालिकाका पूर्व प्रमुखसमेत रहेका वर्तमान प्रम बालेन साहले निर्वाचनअघि “२० वर्षमा पनि बन्न नसकेका पुल सडक डेड वर्षमै सम्पन्न गर्ने” प्रतिबद्धता जनाएका थिए । सोही घोषणाबाट आशावादी बनेका नागरिकहरू अहिले बागबजार पुलको अवस्थाले निराश देखिन्छन् । “बोल्नेभन्दा गर्ने काम देखिनुपर्छ,” एक स्थानीय बासिन्दाले भने ।

यता महानगर स्रोत भने काम रोकिएको नभई “प्राविधिक प्रक्रियाअनुसार अगाडि बढिरहेको” दाबी गर्छ । तर, स्थलगत यथार्थले भने उक्त दाबीलाई समर्थन गर्न सकेको छैन ।

सार्वजनिक पूर्वाधार निर्माणमा देखिएको ढिलासुस्ती र कमजोर अनुगमनले सर्वसाधारणलाई सास्ती दिइरहेको यो घटना एउटा उदाहरण मात्र हो । सम्बन्धित निकायले तत्काल स्पष्ट समयसीमा सार्वजनिक गरी निर्माण कार्य तीव्र नबढाए जनआक्रोश थप चर्किने संकेत देखिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १५, २०८३  २१:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update