काठमाडौँ । मानवीय चेतना र आधुनिक शिक्षाको समन्वयमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ ‘चेतनामा आधारित शिक्षा समिति’ (Consciousness-Based Education Committee) सक्रिय भएको छ ।
हालै ललितपुरस्थित महर्षि वास्तु भवनमा समितिका अध्यक्ष दीपक प्रकाश बास्कोटाको अध्यक्षतामा सम्पन्न विशेष बैठकले शिक्षा क्षेत्रमा नयाँ आयाम थप्ने महत्त्वपूर्ण निर्णयहरू गरेको हो । बैठकमा समितिलाई विधिवत् पूर्णता दिँदै पूर्व गृहराज्यमन्त्री तथा आध्यात्मिक अभियन्ता दीपक प्रकाश बास्कोटा, सदस्य सचिव मीनराज अधिकारी तथा सदस्यहरू डा. विद्यानाथ कोइराला, डा. चिन्तामणिनाथ योगी, सरोजराज पाण्डे र गणेश जोशीलाई मनोनयन पत्र हस्तान्तरण गरिएको थियो ।
बैठकले आगामी २०८३ साल जेठ २३ गते चेतनामा आधारित शिक्षाको आवश्यकता र यसको व्यावहारिक प्रयोगबारे जनचेतना फैलाउने उद्देश्यसहित भव्य राष्ट्रिय सेमिनार आयोजना गर्ने निर्णय गरेको छ । उक्त सेमिनारमार्फत नेपालको विद्यमान शैक्षिक प्रणालीमा आध्यात्मिक तथा चेतनामूलक पद्धतिलाई कसरी एकीकृत गर्न सकिन्छ भन्नेबारे स्पष्ट मार्गचित्र तयार पारिने विश्वास गरिएको छ ।
बैठकमा ‘कन्ससनेस बेस्ड एजुकेशन’ सम्बन्धी विशेष कार्ययोजना प्रस्तुत गरिएको थियो । सो कार्ययोजनालाई सम्बन्धित सरोकारवाला तथा सरकारी निकायसम्म पुर्याई राष्ट्रिय बहसको विषय बनाउने निर्णय समेत गरिएको छ ।
समितिले शिक्षालाई केवल अक्षर र अंकमा सीमित नराखी विद्यार्थीको भित्री चेतनाको विकासमा केन्द्रित गर्नुपर्नेमा जोड दिएको छ । साथै, यस अभियानलाई सफल बनाउन सम्भावित साझेदार संस्थासँग सहकार्य र समन्वय अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
बैठकमा डा. विद्यानाथ कोइराला, भरतराज पौडेल लगायतका शिक्षाप्रेमी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।







