Khabar Out
ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ मा ५५ लाख पटक अर्चना

काठमाडौँ । पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न नेपालमै पहिलो पटक भइरहेको ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ मा ५५ लाख पटक अर्चना, जप र हवन गरिएको छ ।

तन्त्रको साधनास्थली र आध्यात्मिक ऊर्जा केन्द्रको रूपमा नेपाललाई विश्वमा चिनाएर धार्मिक पर्यटन प्रवर्द्धन गराउन वनकालीस्थित पशुपतिनाथ मन्दिर परिसरको नेपाल वेदविद्याश्रममा माघ २३ गतेदेखि सुरु भएको महायज्ञ फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।

महायज्ञ आगम परम्परामा आधारित श्रीविद्या उपासना पद्धतिको उच्चतम अनुष्ठानका रूपमा सुरु गरिएको हो । महायज्ञमा ललिता महात्रिपुरसुन्दरीको एक करोड पटक अर्चना, जप र हवन गरिने कार्यक्रम बनाइएका आजसम्म करिब ५५ लाख पटक साधना सम्पन्न गरिएको डा रुद्रानन्द ब्रह्मचारी बताए।

नेपाल राष्ट्रको शान्ति समृद्धि र जनकल्याणका लागि विश्वमेध श्रीविद्या कोटी अर्चना महायज्ञ गरिएको उनले बताए । यसअन्तर्गत आज भगवती मातङ्गीको लक्षार्चन अनुष्ठान (हवन) सहित श्रीविद्याकी अधिष्ठात्री ललिता महात्रिपुरसुन्दरीको अर्चना (पाठ जप पूजन) भएको छ ।

सबै कार्यको श्री विद्यादेशिक प्रवर गुरु महेश चैतन्य ब्रह्मचारीको सत्सङ्कल्प र दिव्य निर्देशनमा महायज्ञ भइरहेको हो । उनी श्री विद्या तत्त्व अनुसन्धान आश्रम, हरिद्वार तथा दिल्लीका प्रमुख पनि हुन् । यस्ता महायज्ञले पशुपति क्षेत्रको महत्वलाई विश्वभर फैलाउन सकिन्छ । रासस 

प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update