काठमाडौँ । प्रहरी प्रधान कार्यालयको आयोजनामा नेपाल प्रहरीको दुई दिने ‘नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२’ सम्पन्न भएको छ । प्रहरी व्यवस्थापन र परिचालन: विद्यमान चुनौती र भावी कार्यदिशालाई कसरी अगाडि बढाउने भन्ने विषयमा आइतबारदेखि सुरु भएको रणनीतिक सम्मेलन सोमबार सम्पन्न भएको हो ।
दुई दिने सम्मेलनमा नेपाल प्रहरीको सञ्चालन, सुपरिवेक्षण र समन्वय, अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिदृश्यमा सुरक्षा चुनौती र प्रहरी रणनीति, अपराधका पारम्परिक र नवीनतम प्रवृत्तिहरू, विरोध प्रदर्शन व्यवस्थापन, विश्वास, सहकार्य र सुधार: नेपाल प्रहरी र नागरिक सम्बन्धको रूपान्तरणको विषयमा गहन छलफल भएको थियो ।
यस्तै, नेपाल प्रहरीमा मानव स्रोत व्यवस्थापन, नेपाल प्रहरीमा सूचना प्रविधि, सञ्चार र कृत्रिम बुद्धिमत्ता, विपद् व्यवस्थापनमा प्रथम उद्धारका रूपमा नेपाल प्रहरी, सडक सुरक्षा प्रवर्द्धनमा प्रहरी भूमिकालगायत विषयमा सहभागी र विषय विज्ञबिच बृहत् रूपमा छलफल एवं अन्तरक्रिया भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उक्त सम्मेलनमा नेपाल प्रहरीको कार्य समीक्षा र यसका रणनीति निर्धारणका प्रक्रियामा बौद्धिक वृत्त, नागरिक तहको सहभागिता र अपनत्व विकास गर्नु, विद्यमान परिवेशमा आन्तरिक र बाह्य चुनौतीको समग्र मूल्याङ्कन गर्नु, नेपाल प्रहरीको दीर्घकालीन दृष्टि, रणनीतिक लक्ष्य र कार्यान्वयनयोग्य कार्य योजनाका लागि सम्मेलनबाट सुझाव र मार्गदर्शन प्राप्त गरिएको थियो ।
यसै गरी, विद्यमान सङ्गठन सञ्चालनको अवस्था र सुधारका उपाय समीक्षा गर्दै प्रभावकारिता र कार्यकुशलता अभिवृद्धिका उपाय पहिचान गर्नु एवं नेपाल प्रहरीप्रतिको दृष्टिकोण र जनअपेक्षाका सन्दर्भमा सेवा प्रवाहका प्रमुख क्षेत्रमा सुधारका उपाय पहिचान गरिएको थियो ।
सम्मेलनको समापन सत्रमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सम्मेलनमा सहभागीको व्यावसायिक एवं व्यावहारिक ज्ञान, दक्षता र अनुभवका साथै दृष्टिकोण तथा सुझावबाट नेपाल प्रहरीको आगामी कार्यदिशा तय गर्न महत्त्वपूर्ण पृष्ठपोषण मिलेको उल्लेख गरे ।
उनले प्रविधिका माध्यमबाट सिर्जित अपराधका साथै अपराध अनुसन्धानमा देखा परेका नवीनतम चुनौती समाधान गर्न नेपाल प्रहरी निरन्तर लागिरहेको र यस्ता अपराध नियन्त्रण गर्न नागरिकको रचनात्मक सहयोगको निरन्तर आवश्यकता रहेको बताए।
प्रहरी महानिरीक्षक कार्कीले सम्मेलनमा छलफल गरिएका विषयवस्तु र प्राप्त सुझाव आगामी दिनमा नेपाल प्रहरीका लागि नीति, रणनीति र कार्यदिशा निर्धारणका साथै क्षमता अभिवृद्धि, प्रशिक्षण एवं वृत्ति विकासमा मार्गदर्शक हुने बताए ।
सम्मेलनले नेपाल प्रहरीलाई अझ व्यावसायिक, उत्तरदायी र नागरिकमैत्री बन्न प्रेरणा दिएको तथा नेपाल प्रहरीको संस्थागत क्षमता अभिवृद्धि, सेवा प्रवाहको गुणस्तरमा सुधार र नागरिकको प्रहरीप्रतिको विश्वासमा वृद्धि गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । यसैबिच सोमबार प्रहरी प्रधान कार्यालयमा अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चारमाध्यमको भूमिका विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले समाजमा शान्ति सुव्यवस्था कायम राखी अपराध रोकथाम र अनुसन्धान गर्ने प्रमुख जिम्मेवारी नेपाल प्रहरीको भए पनि सञ्चारमाध्यम लोकतन्त्रका मेरुदण्ड, सूचनाका संवाहक, राष्ट्रिय सुरक्षा र राज्य तथा नागरिकबिचको सन्देश वाहकका रूपमा स्थापित संस्था भएको बताए । उनले कुनै पनि घटनाक्रमबारे सर्वसाधारणको पहिलो धारणा सञ्चारमाध्यममार्फत निर्माण हुने हुँदा सम्प्रेषण हुने प्रत्येक सूचना सत्य तथ्य, सन्तुलित र जिम्मेवारीमा आधारित हुनु जरुरी रहेको बताए ।
उनले सूचना प्रविधिको विकाससँगै आजको डिजिटल युगमा सबभन्दा छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मिस इन्फरमेसन हुने, विचार फरक भएर डिस इन्फरमेसन हुने, डिप फेक र एआईको दुरुपयोग तथा डिजिटल म्यानिपुलेसनबाट सिर्जित झुटो सामग्रीले बढवा पाइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
प्रहरी महानिरीक्षक कार्कीले सञ्चारमाध्यम र प्रहरीले आपसी सम्मान, निष्पक्षता, व्यावसायिकता, संस्थागत मर्यादा र आचारसंहितालाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उनले सञ्चारमाध्यमसँग भएको अन्तरक्रियाबाट अपराध अनुसन्धान तथा शान्ति सुरक्षा र सञ्चार माध्यमबिचको सम्बन्ध अझ मजबुत, जिम्मेवार र परिणाममुखी बन्ने विश्वास व्यक्त गरे ।





