Khabar Out
भेरी अस्पतालमा ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत रोगको पहिचान गर्न ‘हिस्टोप्याथोलोजी’ सेवा सुरु गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा निराजन सुवेदीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,टेकु काठमाण्डौँबाट ल्याइएका उपकरण र आवश्यक जनशक्ति व्यवस्थापनपछि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले भने– “हामीले लामो समयदेखि गरिरहेको प्रयास सफल भएको छ, यसले यस क्षेत्रका बिरामीलाई ठूलो राहत मिल्नेछ ।”

डा.सुवेदीका अनुसार यहाँ चारवटा उपकरणसँगै दुई जना प्याथोलोजी चिकित्सकले सेवा दिइरहेका छन । केही दिनअघि मात्रै सुरु भएको सेवाबाट तीन व्यक्ति लाभान्वित भएको र सेवाका कारण क्यान्सर वा अन्य रोगको समयमै पहिचान गर्न सक्ने अवस्था बनेको छ ।

“सेवा सुरु भएपछि समयमै रोग पहिचान गरी तत्काल उपचार गर्ने अवस्था बनिरहेको छ । अब यस क्षेत्रमा क्यान्सरलगायत विभिन्न रोगको पहिचानका लागि नमुना बाहिर पठाउनुपर्ने र रिपोर्टका लागि लामो समय पर्खिनुपर्ने समस्या हट्ने छ”, मेडिकल सुपरिन्टेन्डेन्ट डा सुवेदीले भने ।

अस्पतालका प्याथोलोजी विभाग प्रमुख डा शर्मिला गुप्ताले हिस्टोप्याथोलोजी सेवा सुरु भएपछि क्यान्सर, क्षयरोग, अटो–इम्युन, मिर्गौला, पेट, कलेजोलगायत दीर्घरोग पहिचान गर्न सहयोग पुग्ने बताए । उनका अनुसार हिस्टोप्याथोलोजीले शरीरबाट निकालिएका अङ्ग एपेन्डिक्स, पित्तथैली, प्रोस्टेट आदि रोगग्रस्त छन् कि छैनन् भन्ने पत्ता लगाउँछ ।

विभाग प्रमुख डा गुप्ताले यसबाट क्यान्सर जस्ता गम्भीर रोग पत्ता लगाउन, रोगको प्रकार र अवस्था बुझ्न, रोग कति फैलिएको छ भन्ने थाहा पाउन र उचित उपचार गर्न सहज हुने विश्वास व्यक्त गरे ।  रासस

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update