नवलपरासी । पछिल्लो एक सातामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा अफ्रिकन ‘स्वाइन फिभर’ बाट ३०० बढी बङ्गुर मरेका छन् । जिल्लाको गैँडाकोट नगरपालिकामा फैलिएको यस रोगबाट १३ जना कृषकले पालेका ३०० सात वटा बङ्गुर मरेका हुन् ।
पशुसेवा कार्यालय गैँडाकोटका अनुसार पालिकाभित्रका कृषकले पालेका बङ्गुरमा फैलिएको यस रोगबाट आज दिउँसोसम्म थप चार सय ४० वटा बङ्गुर बिरामी परेका छन् ।
पशुसेवा शाखा प्रमुख डा. प्रमोद पौडेलले यस रोग गैँडाकोटको १, ३, ७ र ९ नम्बर वडामा फैलिएको जानकारी दिए । “यस रोगका कारण एउटै वडामा १५० वटा बङ्गुर मरेका छन्”, उनले भने, “अफ्रिकन स्वाइन फिभरबाट तीन वटा कृषकको बङ्गुर फार्म नै रित्तै भएको छ ।”
“अफ्रिकन स्वाइन फिभर बङ्गुरमा देखिने उच्च ज्वरो हो, यो रोग लाग्दा बङ्गुरमा १०४ देखि १०७ डिग्री फरेनहाइटसम्म ज्वरो आउँछ”, उनले भने, “ज्वरोसँगै बिरामी बङ्गुरको कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छटपटाउने, चाल धर्मराउने हुँदै अन्तिममा बङ्गुरको मृत्यु हुन्छ ।”
बङ्गुरपालक कृषकले विभिन्न लक्षण देखिएर बङ्गुर मरेको जानकारी गराएपछि पशुसेवा शाखा र जिल्लाले गैँडाकोटको वडा नं ७ स्थित बङ्गुर फार्मबाट बङ्गुरको पिसिआर परीक्षण गर्न माघ १४ गते नमुना सङ्कलन गरी काठमाडौँ पठाउँदा आज आएको रिपोर्टमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको उनले जानकारी दिए।
रोगी बङ्गुरमा उपचार सेवा प्रदान गरिएको भन्दै पौडेलले रोग देखिएको खोर वरिपरि ‘रिङ भ्याक्सिनेसन’ गरिएको जानकारी दिनुभयो । जिल्लामा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर देखिएपछि यसलाई थप फैलिन नदिने उच्च सुरक्षा सतर्कता अपनाइएको भेटेरीनरी अस्पताल तथा पशुसेवा कार्यालय नवलपुरकी प्रमुख वरिष्ठ पशुविकास अधिकृत डा शर्मिला कुमालले जानकारी दिए।
अफ्रिकन स्वाइन फिभर रोगको उच्च जोखिममा रहेका सुँगुर तथा बङ्गुरपालक कृषकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको उनले बताए।
“अफ्रिकन स्वाइन फिभर रोगको सङ्क्रमणबाट आफ्नो पशुधनहरूलाई जोगाउन जिल्लावासी कृषकहरूलाई अनुरोध गरेका छौँ”, उनले भने, “बङ्गुरमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छटपटाउने तथा चाल धर्मराउने गरेमा तुरुन्तै नजिकैको पशुसेवा कार्यालयमा सम्पर्क गर्नुहोला ।”
अफ्रिकन स्वाइन फिभर रोग नियन्त्रण गर्न फर्ममा जैविक सुरक्षाका उपाय अवलम्बन गर्न सकिने उनले बताए ।
“बङ्गुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ पाउडर, फर्मालिन, भिर्केनजस्ता सामग्रीको प्रयोग गरी निःसङ्क्रमण गनुपर्छ,” उनले भने, “रोगको शङ्का लागेका पशुहरूलाई बथानबाट छुट्टाएर अलग्गै राख्नुपर्छ ।”
शङ्कास्पद सुँगुर/बङ्गुरको नमुना प्रयोगशालामा परीक्षण गराउनुपर्ने भन्दै उहाँले मरेको सुँगुर/बङ्गुरलाई राम्रोसँग खाल्डो खनेर गाड्ने वा जलाउनुपर्ने बताए ।
घरपालुवा सुङ्गुर/बङगुरलाई जङ्गली बँदेलको सम्पर्कमा आउन दिन नहुने भन्दै डा कुमालले भने, “अहिलेसम्म यो रोगको कुनै भ्याक्सिन बनेको छैन, जैविक सुरक्षा अपनाएर रोग लाग्नै नदिनु उत्तम हुन्छ, रोग लागेमा बङ्गुर मर्ने सम्भावना धेरै हुन्छ ।”
सुङ्गुर/बङ्गुरलाई होटेल रेष्टुराँबाट ल्याएर फोहर खानेकुरा खुवाउने गरिएमा रोगी पशुको मासु तथा हड्डीसमेत मिसिनसक्ने र यसबाट स्वस्थ फर्ममा सङ्क्रमण फैलनसक्ने उच्च जोखिम रहनेहुँदा त्यस्ता खानेकुरा नखुवाउन उहाँले बङ्गुरपालक कृषकलाई सुझाव दिए।
सुँगुर/बङ्गुर प्रजातिका पशुहरू ओसारपसार गर्न नियन्त्रण गरी सङ्क्रमित फर्मबाट सुँगुर बङ्गुरका पाठापाठी खरिद गर्न नहुने बताए । अफ्रिकन स्वाइन फिभर रोग रोगी बङ्गुरबाट मानिसमा नसर्ने भए पनि सावधानी अपनाउन उनले आग्रह गरे। जिल्लामा करिब १८ हजार ३१८ वटा बङ्गुर रहेको कुमालले जानकारी दिए। रासस



