Khabar Out
लाइसेन्समा तीन महिना ‘दण्ड’ ले सेवाग्राही मारमा, प्रणालीमाथि प्रश्न

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित परीक्षामा फेल भएका परीक्षार्थीलाई तीन महिना अघि पुनः परीक्षा दिन नपाउने व्यवस्था कारण सेवाग्राहीहरू व्यापक रूपमा समस्यामा परेका छन् । यो प्रावधानका कारण नयाँ लाइसेन्स लिन चाहने मात्र होइन, विदेश जान तयारीमा रहेका युवासमेत प्रत्यक्ष प्रभावित भएका छन् ।

यातायात व्यवस्था विभागको नियमअनुसार एक पटक लिखित परीक्षामा असफल भएपछि अनिवार्य रूपमा तीन महिना कुर्नुपर्ने व्यवस्था छ । तर, यस्तो व्यवस्था वैज्ञानिक र व्यावहारिक आधारविहीन रहेको भन्दै सरोकारवालाले आलोचना गरेका छन् । वरिष्ठ अधिवक्ता विष्णु लुईटेलका अनुसार एक पटक फेल हुँदैमा लामो समय पर्खन बाध्य पार्नु न्यायोचित नहुने र यसले सेवाग्राहीको अधिकारमा नै अंकुश लगाउने काम गरेको छ ।

उता, विभागकै कमजोर व्यवस्थापनका कारण वर्षौंसम्म लाइसेन्स प्रिन्ट नहुनु, नविकरणमा ढिलाइ हुनु र सेवाग्राहीलाई लाइनमा सास्ती भोग्न बाध्य पारिने अवस्था कायमै छ । यस्तो अवस्थामा उल्टै परीक्षामा फेल भएका परीक्षार्थीलाई महिनौं रोक लगाउनु थप अन्यायपूर्ण भएको गुनासो बढ्दो छ ।

यातायात व्यवस्था कार्यालय चाबहिलका प्रमुख पेशलकुमार पोखरेलले पनि सेवाग्राहीलाई अनावश्यक दुःख दिने र अधिकारबाट बञ्चित गर्ने कार्य स्वीकार्य नहुने बताएका छन् । उनले एक पटक लिखित परीक्षा पास गरेपछि पुनः लिखित दिन नपर्ने व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै फेल भएकालाई पनि लामो समयसम्म रोक लगाउनु उपयुक्त नहुने धारणा राखे ।

समग्रमा, लाइसेन्स प्रणाली सुधारभन्दा बढी झन्झटिलो बन्दै जाँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । सम्बन्धित निकायले पारदर्शी, छिटो र सेवामुखी व्यवस्था लागू नगरेसम्म यस्ता समस्या झन् बढ्दै जाने देखिन्छ ।

स्मरण रहोस् केही समयअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन महिनाको अवधि पूरा नहुँदै पुनः आवेदन दर्ता गराई परीक्षा गराइएको आशंकामा यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा मारेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  २३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update